हुलाकी न्युज, सिरहा । सिरहाबाट स्बतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीले मुलगेटमा रोकी भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिला सहित १० जनालाई आज पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको स्वराजी सुदिपराज कुशवहाले बताए । पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए ।
तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारेख पश्चात् ज्ञापन–पत्र बुझाउने कार्यक्रम राखेका थिए । तारेख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन–पत्र बुझाउन जाँदा भित्र प्रवेश गर्न नदिएपछि राउत समर्थकले प्रहरी र प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि लाठी चार्ज गर्दै उनीहरुलाई पक्राउ गरेका छन् ।
गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको भन्दै न्यायको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा न्यायिक छानबिन समिति गठन, राम मनोहर यादवलाई शहिद घोषणा, शहिद परिवारलाई उचित क्षतिपूर्ति, शहिद पत्नीलाई जागिर र बच्चालाई शिक्षा लगायतका मांग राख्दै उनीहरु आन्दोलित भएका छन् ।
पत्रकार माथी प्रहरीको दुर्ववहार
यता समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रहरीले दुर्ववहार गरेको छ । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउन पुगेको समाचार संकलन गर्न खोज्दा एभि न्यूज टेलिभिजनका सिरहा समाचारदाता शुभनारायण कामतीलाई प्रहरीले दुर्ववहार गरेको हो । फोटो खिच्न खिज्दा क्यामारा अवरोध पुर्याउदै अपशब्द प्रयोग गरेको पत्रकार कामतीले बताए । उनले भने,’प्रहरीले फोटो खिच्न खोज्दा क्यामेरा खोस्यो । पत्रकार सत्रकार जान्दिन । फोटो खिच्न पाईदैन ।’
पत्रकार कामतीले यसवारे जिल्ला प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठलाई फोन गरेका थिए । प्रहरीले गरेको दुर्ववहारवारे प्रहरी प्रमुखलाई जानकारी गराउन खोज्दा फोन नउठाएको पत्रकार कामतीले बताए ।
प्रहरी नायव निरीक्षक दिप नारायण यादव नेतृत्वमा रहेको नेपाल प्रहरीले दुर्ववहार गरेको उनले बताए । पत्रकार दुर्ववहारको घटनावारे पत्रकार संगठनहरुले विरोध गरेका छन् । मधेसी पत्रकार समाजले पत्रकार दुर्ववहार गर्ने प्रहरीलाई कारबाहीको माग गरेको छ ।




