
हुलाकी न्यूज, नेपालगंज : प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको लाश एक महिना ५ दिनदेखि काठमाडौंमा अलपत्र परेपछि स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।
स्थानीय प्रशासनले मृतक यादवको परिवारसँग मौखिक सहमति गरेपनि लिखित सहमति गर्न अस्वीकार गर्दै आएको छ। मृतकका परिवारलाई क्षतिपुर्ति, सन्तानलाई शिक्षा र रोजगारीको व्यवस्था गर्न माग गर्दै बाँकेका स्थानीयवासीहरुले आन्दोलन गर्दै आएका छन्।
पटक–पटक जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिदासमेत प्रशासनले ध्यान नदिएको भन्दै एकदिने चक्का जामको आह्वान गरिएको छ।
यादवका परिवारसहित स्थानीयबासीले शुक्रबार नेपालगंजमा चक्का जामको घोषणा गरेको हो। उक्त विषयमा विभिन्न निकायलाई जानकारी गराइएको छ। एकदिने चक्का जाम पछि पनि प्रशासन र सरकारले सुनवाई नगरे अनिश्चितकालिन चक्का जामको घोषणा गर्ने चेतावनी दिइएको छ।
उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बर्दियामा भदौ ७ गते कालो झण्डा देखाएको आरोपमा राममनोहर यादवलगायतका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका थिए। प्रहरी हिरासतमा अचेत भएका यादवलाई प्रहरी कै नियन्त्रणमा काठमाडौं ल्याउने क्रममा धादिङ्गमा मृत्यु भएको थियो। अहिले उनको लाश टिचिङ्ग हस्पिटल काठमाडौंमा रहेको छ।
नेपाली कांग्रेस र राजपाका सांसदहरुले प्रहरीको यातनाका कारण राममनोहरको मृत्यु भएको आरोप लगाउँदै छानविनको माग गर्दै आएको छ।
यता स्वतन्त्र मधेश गठबन्धनले भने विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ।




[…] […]