नेपालगञ्ज : दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन्। यता नेपालगञ्जका बजारका पसलमा भने दुई/चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ।

भारतीय बजार रुपैडियामा नेपालगञ्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई/चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले पनि रुपैडिया बजार रोजाइँमा पर्ने गरेको हो’ नेपालगञ्ज–१९ की लक्ष्मी बोहराको भनाइ छ।

सीमापारि भारतीय बजार रुपैडियाबाट ल्याएको रु १०० भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन पाइँदैन् । तर, यो नियम व्यवहारमा लागू भएको छैन । भन्सार कार्यालयसँग नेपालगञ्जका व्यापारीको गुनासो पनि यही नै हो । “हामीले हजारौँ पटक, नियममा कडाइ गर्नुस् भनेका छैा, तर नेपालगञ्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि कस्को के लाग्छ” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ ।

अध्यक्ष वैश्य भन्छन्, “बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडियाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडियाभन्दा पनि यहीँ सस्तो पर्न जान्छ । तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचलाई हामीले परिवर्तन नै गर्न सकेनौँ ।”

यही सोच परिवर्तन गर्न र नेपाली बजारप्रति उपभोक्तामा जागरण ल्याउन नेपालगञ्जका केही व्यापारी मिलेर नेपालगञ्जमा यसवर्ष दशैँ सस्तो बजार सञ्चालनमा ल्याउने भएका छन् ।

असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँ सस्तो बजार सञ्चालन गर्ने भएका हुन् । दशैं सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगञ्ज वितरण सङ्घका कोषाध्यक्ष उपकार टण्डनले बताए ।

दशैँ सस्तो बजार सञ्चालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घले सघाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.