
हुलाकी न्यूज, न्यूर्योक : संयुक्त राष्ट्रसंघ (यूएन)को अगाडि मधेशीहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल सरकार विरुद्ध प्रदर्शन गर्दै मधेशमा भइरहेको नरसंहार रोक्न माग गरेका छन्।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को नेतृत्वमा भएको प्रदर्शनमा प्रहरी हिरासतमा मृत्यु भएको राममनोहर यादवलाई श्रद्धाञ्जली दिँदै न्यायको माग गरिएको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गरिरहँदा मधेशीहरुले नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
मधेशीहरुको जातीय नरसंहार बन्द गर्न, मधेशसँगको विभेद अन्त्य गर्नलगायतका ब्यानरसहित प्रदर्शन भएको हो।
राममनोहर यादवलगायतका मधेशीहरुको हत्यामा राज्य पक्ष दोषी भएकोले कारबाहीको माग गर्दै एनआरएमएले संयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्रसमेत बुझाएको छ।
यसैबीच मधेशी–आदिवासी–जनजातिहरूको समूहले नेपालको संविधान च्यातेका छन्। संयुक्त राष्ट्रसंघ अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरूले नेपालको संविधान च्यातदै ओली सरकारको विरोधसमेत गरेका छन्।
मधेशीहरुको विरोध प्रदर्शनलाई अन्य देशका प्रर्दशनकारीहरुले समेत समर्थन गरेका थिए।




good job thanks lots