पुरन साह जनकपुरधाम, २३ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेशको एक इन्च भू–भाग पनि नछोड्ने अडान दोहोर्याएका छन् । शनिवार जनकपुरको बाह्रबिघ्घामा आयोजित विशाल श्रद्वान्जलीसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले झापा, मोरङ्ग र सुनसरी कुनै पनि हालतमा नछोड्ने बताए । उनले मधेशलाई इंगित गर्दै हामीसँग बस्न मन नभएकालाई जिल्ला छोडेर जान भने । उनले भने, ‘ती तीन जिल्लामा पचास वर्ष अगाडि ६ प्रतिशत पहाडी समुदायको बसोबास थियो । अहिले ३६ प्रतिशत छ । हामीसँगै बस्यौँ, अब जसलाई बस्ने मन छैन उनीहरु जाँदा हुन्छ ।’

उनले नागरिकता, निर्वाचन क्षेत्र, समानुपातिक समावेशी र प्रदेशको मांगभन्दा एक इन्च पनि पछि नहट्ने बताए । उनले अझै पनि महिनौ महिना आन्दोलन जारी राख्ने सामथ्र्य मधेशमा रहेको दाबी गरे । महतोले देशको संसद, सुरक्षा, प्रशासनमा आधा हिस्सा सुनिश्चित हुने अधिकार संविधानमा उल्लेख नभएसम्म नथाक्न मेधशी जनतालाई आग्रह गरेका छन् । मांग पुरा नभएसम्म संसद, सरकार, सुरक्षा कुनै विषयको चिन्ता नगर्न पनि उनले आग्रह गरे ।

महतोले काठमाडौंमा आफ्नो घरमा आगो लगाएर देखाउन चुनौती दिएका छन् । उनले भने, ‘आगो लगाउन र आन्दोलन गर्न मधेशी जनता अब सिकी सकेका छन् ।’ जारी आन्दोलन आफ्नो लागि मात्र नभई भारत वा अन्य देशवाट विवाह गरेर भित्र्याउने आफ्ना अर्धाङ्गिनीका लागि पनि रहेको उनको कथन थियो ।

अंगिकृत नागरिकले पनि निश्चित समय पछि सबै अंगमा जान पाउनु पर्ने उनको तर्क थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको श्रद्वान्जलीसभामा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल कर्णले यसपाली पनि मधेश चुक्यो भने सन्ततीले गाली गर्ने भन्दै उर्जा बनाइ राख्न आग्रह गरे ।

सभालाई सदभावनाका लाल किशोर साह, फोरम नेपालका अमरेश नारायण झा, शेष नारायण उदव, तमसपाका राम कुमार मण्डल, हरिनारायण मण्डल, महिला मोर्चाका सवैदलका महिला नेतृहरु, उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा, मासका संयोजक सरोज मिश्र, संयुक्त युवा संघर्ष समितिका शंकर साह सहितकाले सम्बोधन गरेका थिए । सभाको अन्त्यमा सहिद परिवारलाई सम्मान गरिएको थियो ।

1 COMMENT

  1. झापा, मोरङ्ग र सुनसरीमा ५० बर्ष अगाडी मात्र पहाडेहरु आएका हुन् जो जहाबाट आएको हो त्यहि जाओ किनकि म पनि बिहारबाट आएको म पनि उतै जान्छु, मलाई यहाँ बस्न मनै छैन किनकि मत भारती दलाल हुँ जता फाइदा हुन्छ उतै जान्छु, मलाई यहाँ टिक्न गारो भो, आफैले खनेको खाल्डोमा पर्न लागे .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.