जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका–१ की ८ महिने बालिका सोनाली चौधरीको हत्या भएको एक महिना पुगि सक्यो। तर, हत्यारालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन।

स्थानीय सन्तोष चौधरीकी ८ महिने शिशु सोनालीको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सिसिटिभी फुटेजबाट ती अपहरणकारीको पहिचान समेत भइसकेको छ। तर, अपहरण गरी हत्या गरेका ती हत्यारालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।

शिशुको हत्यामा संलग्न व्यक्तिको पहिचान र ठेगाना खुलिसक्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि प्रहरीको अनुसन्धानलाई पीडित परिवार तथा स्थानीयहरुले आशंकाको दृष्टिले हेर्न थालेका छन्।

गत भदौ १० गते औरही बजारमा रहेको चौधरीको सिद्धान्त फेन्सी स्टोर्सबाट एक व्यक्तिले आमा इन्दे्रश चौधरीसँग एकछिन बच्चा खेलाउँछु भन्दै काखमा लिएका थिए। पसलमा ग्राहकको भीड लागेपछि आमा इन्द्रेश चौधरी ग्राहकलाई सामान बेच्नमा व्यस्त भएपछि सोनालीलाई बोकेर भागेको पसलकै सीसीटीभी फुटेजमा देखिएको छ।

अपहरण भएको भोलिपल्ट ११ भदौमा सोनालीको शव गाउँभन्दा पूर्व खेतमा स्थानीयबासीले फेला पारेका थिए। उनको गुप्ताङ्गमा गम्भीर चोट लागेको देखिएकाले उनलाई बलात्कार गरेर हत्या गरेको आशंका छ।

सिसीटिभिमा देखिएका ती व्यक्ति महोत्तरी भंगहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साह रहेको देखिएको छ। अपहरण गर्ने व्यक्ति भरत नै हुन् भन्ने पुष्टि भइसक्दा पनि उनलाई प्रहरीले किन पक्राउ गर्न नसकेको भन्ने प्रश्न उठिरहेको छ। तर, महोत्तरी प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले आफूहरुले भरतको खोजी गरिरहेको बताए।

‘भरतको गाउँसहित आसपासका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ,’एसपी कार्कीले भने,‘भरतबारे ७७ वटै जिल्लामा सूचना पठाइसकेका छौं। नेपालको मात्रै नभएर भारतीय प्रहरीको पनि निरन्तर सम्पर्कमा नै छौं। अहिलेसम्म उनको पतो चल्न सकेको छैन।’

चोरी चकारी गर्ने पृष्ठभूमि रहेका भरत लागू औषध दूव्र्यसनीसमेत रहेको बताउँदै एसपी कार्कीले उनी छिट्टै प्रहरीको नियन्त्रणमा आउने बताए।

‘प्रहरीले मात्र उसको खोजी गरेको छैन। त्यहाँका स्थानीयहरुले पनि भरतको खोजी गरिरहेका छन्। तर, सफलता अझै पाउन सकिएको छैन,’ उनले भने। – स्पेसखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.