हुलाकी न्यूज, काठमाडौं : थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु भएको छ।

थारु कल्याण महासंघ, भारतका अध्यक्ष दिपनारायण प्रसादले उद्घाटन गरेपछि कार्यक्रम सुरु भएको छ।

उद्घाटन सत्र राष्ट्रिय सभा गृहमा भएपनि बन्द सत्रलगायतका कार्यक्रमहरु गौशलास्थित शिवदर्शन पार्टी प्यालेशमा हुनेछ।

उद्घाटन सत्रमा प्रमुख अतिथी बनाइएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नारावाजी भएपछि देउवालाई कार्यक्रममा बोलाइएन।

थाकसको अध्यक्ष पदका लागि तीन जना मैदानमा उत्रिए पनि दुई जनामा कडा प्रतिस्पर्धा हुने देखिन्छ। वर्तमान अध्यक्ष धनीराम चौधरी, राजकुमार लेखी र मिश्राम महतोले अध्यक्षमा दाबेदारी गर्दै आएका छन्।

चार वर्षदेखि अध्यक्ष रहेका धनीराम टीकापुर घटनामा मुछिएपछि अर्धमूमिगत छन्।

कांग्रेस निकट धनिरामलाई कांग्रेस निकट मत आउने देखिन्छ तर थाकसभित्र कांग्रेसकै मत भने निर्णायक छैन। चार वर्षमा काम गर्न नसकेको भन्दै आलोचना पनि हुँदैछ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सचिव राजकुमार लेखी अध्यक्षका प्रबल दाबेदारका रुपमा देखिएका छन्। लेखीलाई कम्युनिष्ट र मधेशवादी दलको मत पर्ने सम्भावना छ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा लागेको लेखी अहिले राजपामा छन्। त्यसकारण थरुहट आन्दोलनका अगुवाहरुले पनि लेखीलाई समर्थन गरेको देखिन्छ। मतदान भए लेखी विजयी हुने सम्भावना छ।

थाकसको अध्यक्षका अर्को उम्मेदवार छन् चितवनका विश्राम महतो। उनी खासै चर्चामा छैनन्। सहमतिमा निर्णय भए आफू अध्यक्ष बन्ने दाउमा महतो छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.