
हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन्।
बुधबार सप्तरीसहित मधेशका जिल्लाहरुमा कालो झण्डा गाडेको राजपाले जनाएको छ।
मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले सञ्चारकर्मीहरुलाई बताएका छन्।
यसैबीच उपप्रधान मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्देशनलाई चुनौती दिदै नेता तथा कार्यकर्ताहरुले कालो दिवस मनाउँदैछन्।
यादवले संविधानको विरोध नगर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए। तर फोरमका विभिन्न नेता तथा कार्यकर्ताहरुले विभिन्न स्थानमा र समाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन्।
अध्यक्ष यादवको निर्देशनलाई चुनौती दिदै पार्टीकी केन्द्रिय उपाध्यक्ष रेणु यादवले विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म आफुहरु असोज ३ गतेका दिन कालो दिन कै रुपमै मनाउने बताएकी छन्।
समाजिक सञ्जाल फेसबुकमा कालोपटी र कालो झण्डासहित आफ्नो फोटो समेत राख्दै उपाध्यक्ष यादवले लेखेकी छन्, ‘विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने।’
रेणुका छोरा तथा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य अभिषेक कुमार यादवले पनि फेसबुकमा संशोधन नहुन्जेलसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताएका छन्।



