
कौशल कुमार सिंह
कुनै पनि मितिलाई कुन नाम दिने त्यो कुनै पनि व्यक्तिको भावनाले तय गर्ने हो। यदि कुनै मिति कसैको लागि राम्रो गर्छ भने त्यो मिति उनको लागि शुभ मानिन्छ र कुनै मिति कसैको लागि नराम्रो गर्छभने त्यो उनको लागि अशुभ अर्थात खराब श्रेणीमा पर्ने गर्छन। ठीक अहिले असोज ३ को सन्दर्भमा पनि यस्तै अवस्था बनेको छ।
असोज ३ गते नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिन बन्न पुगेको छ। तर यो महत्वपूर्ण दिन आफैंमा निकै नै विवादास्पद बनेको छ। यो दिनको महानतालाई रगतको छिटाले ‘दागदार’ बनाइएको छ। कुनै आमाको काँखबाट उनको माया खोसेको छ भने कुनै छोरालाई टुहुरा बनाइएको छ र कतिको सिन्दुर पुछिएको छ। तर पनि यो दिनलाई महान भन्नेहरु नै शक्तिशाली छन्।
इतिहास साक्षी छ, शक्ति र अंहकारको बलमा त कहिलेकाही दानवले पनि देउतामाथि विजय प्राप्त गरेका थिए। तर ती विजेता केहिले पनि देउता बन्न सकेन्, बरु झन् दानवी रुप उनमा पलाएर आए र उनको बढदो दानवी प्रभावको कारण मानव जातिलाई झन बढी दुःखी बनाए र क्षति पु¥याए। जसले धर्मलाई आफ्नो मार्गमा अझ सशक्त बनेर लाग्न प्रेरणा प्रदान गरे र अन्ततः धर्मको विजय भयो।

अहिले ठीक त्यस्तै अवस्था मधेशको छ। मधेशले आफ्नो अधिकारको लागि अनेक सपुतहरु जन्माएर र उनीहरु अधिकारको लागि अगाडी पनि बढे तर गरिबी, अभाव र पीडाबाट जन्मेका मधेशी नेतृत्व सत्ताको चमक–धमक र सेवा सुविधाको प्रभावमा परेर कतिपय मधेशबाट विस्थापित भएभने कतिपय मधेशकै नाममा सत्ताको दलाल बने। बचेका केहीको साहस र तागत कम भईसकेको छ। तर पनि अधिकार पथमा अगाडि बढने प्रयास तिनीहरुले गरिरहेका छन्।
सन्दर्भ असोज ३ को बारेमा, यो दिन मधेशी जनताको जीवनमा कालो रंग पोतिएको छ। राणाले बनाएको पहिलो संविधानमा पनि मधेशीमाथि यति बढी विभेद गरिएको थिएन, जति २०७२ साल असोज ३ गते बनेको संविधानले गरेको छ। पहिलाको संविधानले मधेशी र अन्य समुदाय भनेर किटानी व्याख्या र विभेद गरेको थिएन तर २०७२ को संविधानले मधेशी समुदायलाई किटानी गरेर विभेद र अधिकारबाट बञ्चित गर्ने काम गरेको छ। पहिला अलिखित रुपमा मधेशीमाथि विभेद थियो भने अब लिखित रुपमा नै मधेशका गरिब र पिछडामाथि विभेद शुरु भएको छ। जसकारण मधेशी जनताको लागि असोज ३ कोलो बनेको छ।
२०७२ साल असोज ३ गते संविधान जारी गर्दा मधेशी जनता आफ्नो संवैधानिक अधिकारको लागि सडकमा आन्दोलित थिए र नेपाल प्रहरीका जवानहरुले मधेशीको छाती र टाउकोमा गोली प्रहार गरिरहेका थिए। २०७२ साल असोज ३ गतेमा मधेशमा मृत्युवरण गरेकाहरुको लाश जलिरहेको थिए भने काठमाडौंमा पाँच तारे होटेलको पार्टी चलिरहेको थियो। एकातिर मधेशमा मृत्युको कारण मुखमा पानीसम्म पनि लिन बर्जित थियो भने अर्कोतिर काठमाडौंमा, मुखमा मासु र रक्सीको मदमा मस्त भएर नाच्दै थिए। यसै कारण असोज ३ मधेशीको लागि कालो हो।
संविधानमा अधिकारको लागि आन्दोलनको क्रममा शहादत प्राप्त गरेका मधेशका गरिब र पिछडाहरुको अधिकार संविधानबाट खोसेर जुन पाप गरिएको छ, त्यसको सजाय पनि समयले दिने नै छ तर अहिले जुन दुःख र अपमान मधेशका ती गरिब र पिछडालाई भोग्नु परेको छ, त्यसको जवाफ पनि एक दिन दिनै पर्नेछ। त्यसको लागि पनि तयार भएर बसे हुन्छ नै। किनभने इतिहासले नै दुई वटा पाटा सृजना गरेका छन् र भोलीका दिनमा पनि असोस ३ को दुई वटा खुल्ला रुपमा पाटा बाहिर आउने नै छन्।
मधेश अधिकारको नाममा दलाली गर्नेहरु र मधेशी जनताको भावनासँग खेलवाड गर्दै दुईतर्फी खेल खेल्ने खेलाडीहरुलाई पनि मधेशी जनताले नचिनेका होईनन्। मात्र आवश्यकता छ, विकल्पको । जुन दिन त्यो विकल्प मधेशी जनताले पाउँछन्, त्यो दिन मधेशका गरिब र पिछडाले आफ्नो अधिकारसहितको संविधान प्राप्त गर्नेछन्। त्यसलाई अहिलेको संशोधित वा पुर्नलिखित जे भने पनि संविधानले पुरा गर्न सकिदैन।
किनभने मधेशीको रगतले रंगिएको संविधान मधेशका जनताले कसरी हाम्रो हो भन्न सकिन्छ ? भन्ने मूल प्रश्न रहेको छ । मधेशी छोराको रगतले रंगिएको संविधानलाई मधेशीले कसरी स्वीकार गर्ने भन्ने प्रश्न अहिले मधेशका बच्चा–बच्चाले गरिरहेका छन्। एउटा छोराले आफ्नो बुवाको रगतले रंगिएको संविधानको सपथ कसरी खान सक्छन्? भन्ने प्रश्न उठेको छ । त्यसकारण संविधान परिवर्तन आवश्यक छ।
मधेशीको भोटबाट शक्तिशाली बनेकाहरु आज संविधान दिवस मनाउन गइरहेका छन् भने तिनीहरु आफ्नो कुर्सीमा बसेर मधेशीलाई नै गद्दार भनी शासकलाई खुशी पार्ने काम गरिरहेका छन्। तिनीहरुलाई पनि मधेशका गरिब र पिछडाहरुले समझी रहेका छन्, बुझेका छन्। मधेशको गरिबी र पिछडापनको फाईदा उठाएर सत्तासँगको मिलोमतोमा भोटको खरिद बिक्री गरी मधेशमाथि शासन गर्ने जुन तानाबान बुन्ने कार्य गरिरहेका छन्। त्यसको पनि एक दिन खुल्ला बहस र मधेशको दलानमा छलफल हुने नै छन्।
त्यो दिन सबैको हिसाब किताब ती द्वैध चरित्रधारीहरुलाई दिनुपर्ने हुन्छ। तिनीहरु सत्ताको रसपान गर्दै व्यक्तिगत सुख सुविधामा व्यस्त छन् भने मधेशको नाममा गरिब र पिछडाको उद्धार गर्ने सपना पनि बाडिरहेका छन् । जो कदापी स्वीकार गर्ने पक्षमा छैनन्, मधेशी जनता। मधेश अधिकारको नाममा राजनीतिक रोटी सेक्नेहरु अब परास्त हुनेछन् भने मधेशको लागि सही र सच्चा देशभक्तहरुको बर्चस्व कायम हुनेछन्।
मधेशी जनताको लागि पनि अहिले त्यही परीक्षाको घडी हो। को मित्र र को शत्रु, पहिचानको आवश्यकता महत्वपूर्ण बनेको छ। तर मधेशको लागि विस्थापितभन्दा दलाल बढी खतरनाक बनेको छ। विस्थापितलाई त चिनिसके तर दलाललाई चिन्न समस्या भएको छ। मधेशी जनताबाट ती दलालले शक्ति आर्जन गरी सत्तासँग मिलेर मधेशी जनतालाई नै पीडित र प्रताडित बनाउने गरिरहेका छन्। अब समय आईसकेको छ, आफ्नो कुरा प्रष्ट रुपमा राख्ने । आफ्नो कित्ता तय गर्ने।
मधेशका गरिब र पिछडाको पक्षमा वकालत र कार्य गर्नेहरु एउटा कित्तामा उभ्नेछन् भने मधेशको नाममा सत्ताधारीसँग मिलेर काम गर्नेहरु अर्को कित्तामा जाने छन्। अनि शुरु हुन्छ मधेश अधिकारको लडाई । अब त्यो दिन छिट्टै आउने छन् र मधेशी जनता आफ्नो कित्तामा उभ्नेछन्।
२००७ सालको प्रजातन्त्र प्राप्ति पश्चात् नै मधेशी दलालहरु सत्तासँग मिलेर ठाउँ ओग्टने गरेका छन् र त्यो कार्य अहिले पनि निरन्तर चलिनै रहेको छ। मधेशी जनताले अब कुन बाटो लिने हो, त्यो पनि तय गर्नुपर्ने नै हुन्छ । अनि मात्र सही रुपमा अधिकारको प्राप्ति हुन्छ र असोज ३ को कालो दिन हटछ।
(लेखक, लोक दलका अध्यक्ष हुन्) [email protected]



