हुलाकी न्युज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि फ्लु प्रभावित क्षेत्रमा थप चिकित्सक टोली आइपुगेका छ्न ।
विशेषज्ञ डाक्टर अभावले उपचारमा समस्या भएकोले पछिल्लो तीन हप्तादेखी कञ्चनरुप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालकसहित चारजनाको मृत्यु भएपछि सोमवार दुई जना विशेषज्ञ डाक्टर केन्द्रबाट आइपुगेका छन् ।
महामारी नियन्त्रण महाशाखाबाट डा. प्रकाश साहसहित दुई जनाको टोली कञ्चनरुप पुगेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. संजीव झाले जानकारी दिएका छन् ।
भारतको झारखण्डस्थित देवघर जिल्लामा रहेको प्रसिद्ध बाबाधामबाट तिर्थयात्रा गरेर फर्केकाहरुबाट फ्लू सरेर आएको विज्ञहरुले बताएका छन्। यता नगरपालिका ले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ। यसैबीच नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त मिश्रले बताए।



