सागर बुढाथोकी

‘निर्मलालाई न्याय देऊ’ भन्दै देशभरिका नागरिक सडकमा उत्रिरहँदा कीर्तिपुर अस्पतालमा किशोरी छटपटाइरहेकी थिइन्। सुतिरहेकै ठाउँमा ‘एसिड आक्रमण’को सिकारमा परेका दुई दिदी बहिनी यतिखेर मृत्युसँग संघर्षमा छन्।

कीर्तिपुर अस्पतालको आइसीयू कक्ष। बेड भरिभरिराउ छन्। कुनै बेडमा करेन्ट लागेर घाइते भएका छन् त कुनैमा आगोको चपेटामा परेकाहरु। सबैको लडाई मृत्युसँग। आइसियू बाहिर बिरामीको छटपटी उत्तिकै। अस्पतालको अत्यन्तै संवेदनशील मानिने युनिट आइसियूमा पूरै सन्नाटा छ। कुनाको बेडमा रौतहटकी १८ वर्षीया सम्झना दास छिन्। २६ गते एसिड आक्रमणमा परेकी उनलाई २७ गतेदेखि यहाँ ल्याइएको हो।

विभत्स अनुहार! अत्यन्तै सुन्निएको। खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज। नाकदेखि हातसम्म पाइपकै सहारामा ज्यूदै छिन्। एउटा आखाँबाट पिप बगेको देखिन्छ। अर्को आँखा  पूरै बन्द। एसिडले पूरै कुरुप। उनी बोल्छिन कि भन्ने अपेक्षासमेत गर्नु व्यर्थ। यतिमात्र कि, आखाँले झिमझिम पारिरहन्छिन्। बुवा जादोलाल दासलाई केही संकेत गर्छिन्। दास छोरीको इशारा बुझ्न असमर्थ छन्। भन्छन्, ‘मेरो फूल जस्तो छोरीलाई कुन पापीले एसिडले हानेर यस्तो बनायो।’

बोल्दा बोल्दै उनको गला अबरुद्ध हुन्छ। आँखाबाट आशु खस्छ। आइसियूबाट बाहिर निस्कन्छन्। आइसियूबाट बाहिरिनासाथ प्लास्टिक सर्जन डाक्टर पियूष गिरी भेटिन्छन्। दासलाई कुनातिर लगेर भन्छन्, ‘छोरीको अवस्था अत्यन्तै नाजुक छ। शरीरको ३५ प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको छ। अत्यन्तै ‘क्रिटिकल’ छ। के हुन्छ भन्न सकिन्न्।’

डाक्टरको ब्रिफिङसँगै उनको चेहराको रंग बदलिन्छ। एकएक टोलाउन थाल्छन्। आँखाबाट झरेको आँशु हातले पुछ्न आवश्यक ठान्दैनन्।

एसिड आक्रमणमा परेका दुई छोरीमध्ये जेठी सम्झनालाई आइसियूमा राखिएको छ। अर्की छोरी सुस्मिता ओपिडीमा छिन्। सम्झनालाई जे पनि हुनसक्ने भनेर चिकित्सकहरुले भनिसकेका छन्। सुस्मिताको अवस्था सामान्य बन्दैछ।

फ्लासब्याक : तिजको दर खाने दिन

स्थान:  रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका।
ठोक टोल।
समय : रातको १२ बजे

मध्यरातमा पूरै गाउँ निद्रामा थियो। सम्झना र सुस्मिता पनि सुतिरहेका। त्यतिकै सुस्मिताको हात सहन नसक्ने गरी पोल्न थाल्यो। चिच्याइन्। उठ्दा दिदी सम्झना पनि चिच्याइरहेकी! बत्त्तीको लाइन काटिएको थियो। गहिरो अध्यारो। दिदी बहिनी दुवै चिच्याउन थालेपछि आमाले (कान्छी आमा) ढोका खोलिन्। ढोका खोल्नासाथ आमालाई अंगालोमा बेरिन्। त्यहाँ कोही थिएन। एसिड कस्ले हान्यो थाहा हुने कुरै भएन।

हल्लाखल्ला टोलभरि फैलियो। गाँउलेहरु मध्यरातमै भेला भए। धाराको पानीले नुहाइदिए। एसिडको रापलाई पानीले के सितल बनाउँथ्यो र?  रुवाई कम भएन। एसिडले पोलेकाले चुप रहनसक्ने अवस्था थिएन। गाँउलेहरुले एम्बुलेन्स बोलाए तर आएन। बजारमा रहेका बुवा जादोलाल घर आइपुगे। स्कुटरमा हालेर चन्द्रपुर हस्पिटल पुर्याए।

सुस्मिता भन्छिन्, ‘अस्पताल पुग्दासम्म दिदी बेहोस थिई। शरीर सबै जलेको। कपडा पनि जलेको। मैले चाही ड्रेसिङ गरेकोमात्र थाहा पाएँ।’

अस्पतालमा त्यतिकै २ घण्टा बित्यो। चन्द्रपुर अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने बतायो। बिहानको साढे चार बजे एम्बुलेन्समा हालेर काठमाडौंको लागि ल्याइयो। ९ बजे कीर्तिपुर अस्पतालमा ल्याउँदा समेत सम्झना बेहोस नै थिइन्। अहिले होस् त छ तर बोल्न सक्दिनन्।

दर खाने दिन घटना भएको हो। उनीहरु सपरिवारले घरमै मीठो मसिनो पकाएर खाएका थिए। त्यसपछि जादोलाल सुत्न बजारतिर गए। सम्झना र सुस्मिता घरमै। जादोलाल बजार गएको चार घण्टापछि एसिड आक्रमण भयो।

***

सुस्मिता १५ वर्षकी हुन्। सम्झना १८ की। उनीहरु कान्छी आमासँग घरमै बस्थे। पुल हाउस सञ्चालन गरेकाले जादोलाल बजारमै सुत्नुपर्थ्यो। उनले जेठी श्रीमतीसँग २ वर्षअघि सम्बन्ध बिच्छेद गरेका हुन्। सम्बन्ध विच्छेद भए पनि छोरीहरु उनीसँगै बस्थे।

सम्झनाको आमा एक महिनाअघि मात्रै वैदेशिक रोजगारको लागि मलेसिया गएकी छिन्। काम सुरु गर्न नपाउँदै छोरीहरुमाथि एसिड प्रहार भएको खबर पाएकी छिन्। विदेशी भूमिमा कस्तो अवस्थामा होलिन? कल्पना गर्न सकिन्न। केही दिनभित्रमा विदेशबाट आमा आइपुग्ने खबरले सुस्मिताको मन केही शितल भएको छ, भलै शरीर भतभती पोलिरहेको होस्।

सुस्मिताले अस्पतालमा आएपछि मात्रै एसिड परेको थाहा पाइन्। यसअघि एसिडको बारेमा थाहा थिएन। अहिले थाहा पाएर झनै डर बढेको छ। भन्छिन्, ‘मलाई त धेरै परेको छैन्, दिदीलाई के हुने हो? भगवान, दिदीलाई चाँडै ठीक बनाइदिनु।’

एसिड कस्ले हान्यो थाहा छैन, उनलाई। कोहीसँग झगडा परेको याद छैन। दिदीको झगडा परेको पनि थाहा छैन। न दिदीको कसैसँग प्रेम थियो, न त उनको नै।  ऐलेसम्म कसैले पछ्याएको पनि याद छैन। भन्छिन्, ‘दिदी र म जतिबेला पनि सँगै हुन्छौं। दिदीलाई कसैले पछ्याएको,  झगडा केही भएको भए मैलै थाहा पाउथेँ। केही थाहा छैन।’

‘त्यसो भए कस्ले हान्यो त एसिड? कसैसँग शंका?’

उत्तर छैन सुस्मितासँग। भन्छिन्, ‘किन हो मेरो त स्कुलमा नि कोही साथी छैन। स्कुलमा पनि नखेलिकन होमवर्क गरेर बस्छु। ठूलोबाबाको छोरोमात्र मेरो साथी हो।’

सम्झना स्कुल जान्नन्। उनको पनि धेरै जनासँग घुलमिल छैन। एसिड हान्ने नै किसिमको कसैसँग दुस्मनी छैन उनीहरुको। पागल नै हुने किसिमको प्रेम त परै जाओस् केटा मान्छेसँग संगत छैन। सुस्मिता भन्छिन्, ‘ त्यस्तो केही भएको भए मलाई थाहा भइहाल्थ्यो।’

सुस्मिता जनजागृती उच्च माविमा पढ्छिन्। कक्षा ६ को आन्तरिक परीक्षा दिएको ५ दिन पछि यो घटना घटेको हो। सम्झनाले भने सात कक्षापछि पढ्न छोडिन्। आर्थिक अवस्था बाधक बन्यो पढ्नको लागि। उनी घरकै काम गर्थिन्। बुवा ममीको सम्बन्ध बिच्छेदको मानसिक तनाव झेलेर भए पनि दिन काटिरहेकी थिए उनीहरुले। आमाले विदेशबाट पैसा पठाएपछि फेरि स्कुल जाने धोको थियो। ती सबै सपना चकनाचुर भयो।

***

अस्पतालले लेखाइदिएको औषधिको पुर्जा बोकेर आए जादोलाल। नसोचेको भन्दा बढी खर्च भइसक्यो उनको।  उपचार गर्न पैसा छैन। ५ लाख भन्दा बढी पुरानै ऋण छ। तत्कालै साहुहरुले पत्याउँदैनन्। पुल हाउस खोल्न ५ धुर जग्गा बन्धकी राखेकाले बेच्न पनि मिल्दैन।
भन्छन्, ‘खर्च त जसोतसो जुटाउँला तर अपराधी पत्ता लागे ढुक्क हुन्थ्यो।’

अस्पतालको बेडमा छोरीहरु छटपटाइरहँदा जादोलालको मन पनि उस्तै पोलिरहेको छ। तै पनि उनी यता र उता भौतारिरहेका छन्। उपचार खर्च जुटाउन साथीभाइ आफन्तलाई गुहार गरिरहेका छन्। अबको आशा र विश्वास साथीहरु हुन् उनका। सरकारले गर्छ कि भन्ने सोच मनमा नआएको बताउँछन्। भन्छन्, ‘मैले धैरै सोच्न सकेकै छैन। सरकारले खै के गर्ला र?’

छोरीहरुलाई कसले आक्रमण गर्यो केही अन्दाज गर्न सकेका छैनन्, उनले पनि। अहिलेसम्म कोहीसँग दुस्मनी नभएको बताउँछन्। ‘ज्याला मजदुरी गरेर खाने मान्छेको को नै हुन्छ र दुस्मन?,’ भन्छन्, ‘धेरै वर्ष ज्यामी काम गरेँ। रिक्सा चलाएँ। दुई महिना त भो पुल हाउस खोलेको। कोसँग दुस्मनी हुन्छ र?’

‘त्यसो भए कसले हान्यो त एसिड?’

उनी १५ दिनअघि छोरीले बताएको कुरा सम्झन्छन्।

फेसबुकमा नचिनेको मान्छेले जथाभावी गाली गरेर लेखेको सुनाएकी थिइन् छोरीले। को थियो, कहाँको थियो? सम्झनालाई पनि थाहा थिएन। त्यतिबेला उनले नाम सोधेनन्। ऐले सम्झना बोल्न सक्दिनन्। उनको शंका त्यही हो कि भन्ने छ।

छोरीको बारेमा उनले कहिल्यै नराम्रो सुनेनन्। बजारमा डुलेर हिँडेको कहिल्यै देखेनन्। नराम्रो कसैले सुनाएनन् पनि। न कसैसँग दोस्ती भएको देखे न त प्रेम भएको कसैले सुनाएका छन्। भन्छन्, ‘कसैलाई शंका गर्ने अवस्था नै छैन। यसअघि कोहीसँग नराम्रो भएकै छैन।’

घटना भएको ५ दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरीलाई बारम्बार फोन गरिरहन्छन्। उताबाट अनुसन्धान भइरहेको जवाफ आउँछ। प्रहरीको जवाफले छटपटी बढ्छ उनलाई। कतै अपराधी सीमा कट्ने हो कि भन्ने डर छ। सास रहेसम्म आश रहने सुनाउँछन्। तर, प्रहरीले अपराधी पत्ता लगाउन नसकेकको समाचार पढ्दा द्विधामा छन्।

केही सोचेजस्तै गरि फेरि उनले रौतहट जिल्ला प्रहरीमा फोन लगाए। उताबाट फेरि जवाफ आयो ‘अनुसन्धान भइरहेको छ। अपराधी पत्ता लागे खबर गर्छौ।’

फोन राखेपछि उनको अनुहार झन् मलिन हुँदै गइरहेको थियो।
सबै फोटो : प्रविण रानाभाट

माथिका सबै तस्बिरहरु बहिनी सुस्मिता र सबैभन्दा तलको एउटा दिदी सम्झनाको हो। दिदीको आइसीयुभित्र उपचार भइरहेको छ भने बहिनीको वार्डमा।

साभार : http://www.pahilopost.com/content/20180915175710.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.