
हुलाकी न्यूज, काठमाडौँ : संघीय समाजवादी फोरम नेपालले मधेशमा ‘कालो संविधान दिवस मनाउने भएको छ भने बाँकी स्थानमा दीपावली गर्ने भएको छ।
संविधान दिवसको अवसरमा असोज तीन गते फोरम नेपालले मधेश प्रदेशमा कालो दिवस मनाउने निर्णय गर्दै निर्देशन जारी गरेको छ।
तर फोरम नेपालको केन्द्रीय कार्यालयले भने कालो दिवस नमनाउन निर्देशन जारी गरेको छ।
फोरम उपाध्यक्ष रेणु यादवसहितका मधेशी नेताहरूले असोज तीन गते कालो दिवस मनाउने निर्णय गर्दै विरोध कार्यक्रमहरू सार्वजनिक गरेका छन्।
तर पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसहितका गैर मधेशी नेताहरू संविधान दिवस मनाउने निर्णय गरेका छन्।
यादवले आइतबार विज्ञप्ति जारी गरेकी छिन् भने अधिकारीले सोमबार विज्ञप्ति जारी गरेका छन्।
उपाध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा बन्दुकको बलमा संविधान जारी गरेको र संशोधन गर्ने सहमति भए पनि अहिलेसम्म संशोधन नभएको भन्दै कालो दिवस मनाउने उल्लेख गरिएको छ।
मधेश प्रदेशको कार्य सम्पादन समितिले कालो दिवसका रूपमा मनाउने निर्णय गरेको जनाउँदै विरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको छ।
असोज ३ गते दिनभरि हातमा कालो पटी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा झ्ण्ड्याउने, साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘बल्याक आउट’ गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई फोरमले आग्रह गरेको छ।
तर उपमहासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा संविधान संशोधनका लागि सरकारले सहमति जनाइ सकेकोले कालो दिवस मनाउनु पर्ने आवश्यकता नरहेको जनाइएको छ।
‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यसखालको कार्यक्रममा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रम नरहनसमेत सम्पूर्ण ससफो नेपाल आग्रह गर्दछ।’ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फोरम नेपालका कार्यकर्ता तथा समर्थकहरूले मधेशमा कालो दिवस मनाउने देखिन्छ भने अन्य स्थानमा सरकारले घोषणा गरे बमोजिमको दिपवली मनाउने देखिन्छ।
कालो दिवसबाट पछि हट्दैनौँ : उपाध्यक्ष यादव
फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले आफूहरू विरोधको कार्यक्रमबाट पछि नहट्ने बताएकी छिन्।
हुलाकी न्यूजसँग कुराकानी गर्दै नेतृ यादवले भनिन्,‘कालो दिवस मनाउने सरकुलर फिर्ता हुँदैन। मधेशी जनताहरू अहिले संविधानको पनि विरोध मै छन्।’
मधेश आन्दोलनको भूमि रहेकोले मधेशी जनताको भावना बमोजिम संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहने यादवले बताइन्।
प्रदेश समितिले एउटा र केन्द्र समितिले अर्को निर्णय गर्दा विवाद हुने विषयमा नेतृ यादवले भनिन्,‘कुनै विवाद हुँदैन। प्रदेश समिति स्वायत्त हो। आफ्नो निर्णय आफै गर्छ।’




