
हुलाकी न्यूज, काठमाडौं : बाँकेका राममनाहेर यादवको मृत्यु प्रकरणमा स्वतन्त्र मधेश गठबन्धनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाएको छ।
राममनोहरको घटनालाई छानविन गरी दोषीलाई कारवाही गर्न मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाइएको छ।
राममनोहरको मृत्यु प्रकरणमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपीलगायतका प्रहरी अधिकारीहरुसमेत दोषी रहेकोले छानविन गरी कारवाहीको माग गठबन्धनले गरेको छ।
गठबन्धनका प्रवक्ता अब्दुल खानले हस्ताक्षर गरेको ज्ञापन पत्र मधेश अधिकारकर्मी ई.दीपक कुमार साहले बुझाएका छन्।
आइतबार दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्रीका सल्लाहाकार एवं विज्ञ सूर्यप्रकाश सुवेदीमार्फत ज्ञापन पत्र बुझाइएको छ।
उक्त ज्ञापन पत्रमा राममनोहर यादवलाई सहिद घोषणा गर्नु पर्ने, यादवको परिवारलाई क्षतिपुर्तिका साथै बालबच्चाको अध्ययनको व्यवस्था गर्नु पर्नेलगायतको माग राखिएको छ।
सल्लाहकार सुवेदीका अनुसार गृहमन्त्री थापाले यसअघि पनि छानविन समिति गठनको तयारी गरेका थिए तर अहिलेको रोकिएको छ। पुनः छलफल गरी समिति गठनका लागि पहल गर्ने सुवेदीले बताए।
जासर यादवलगायतका गठबन्धनका नेताहरु पनि ज्ञापन पत्र बुझाउन पुगेका थिए।
यसैबीच गठबन्धनले राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवलाई पनि ज्ञापन पत्र दिएको छ।



