काठमाडौं :
निजगढ विमानस्थल निर्माणको विषयलाई लिएर बहस चर्किएकै बेला सत्ता साझेदार दलभित्रै पनि विवाद देखिएको छ। सत्ता साझेदर दल संघीय समाजवादी फोरमका सांसद सरिता गिरीले समेत रुख विवाद उठाएकी छिन्।

विमानस्थल निर्माणको विषय बहसमा आए यता गिरीले संसदमा रुख कटानी गरेर विमानस्थल निर्माण गर्न नहुने तर्क गर्दै आएकी छिन्। फोरमबाट गिरीले संसदमा आवाज उठाएपछि राजपाका सांसदहरुले पनि उनलाई समर्थन गरेका छन्। आफ्नै सरकारले निर्माणको तयारी अगाडि बढाइरहँदा सत्तारुढ दलका सांसदहरु नै त्यसको विरुद्धमा उभिएका हुन्।

अहिले संघीय संसद भित्र नेपाली कांग्रेसले विमानस्थल निर्माणका लागि हुने भनिएको रुख कटानीको विरुद्धमा उभिएको छ।

आइतबार नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजगढ विमान स्थलका लागि सात लाख रुख कटानी गर्न लागेको भन्दै विरोध जनाए। पंचायत कालमा पंचलाई जोगाउन जंगल फडानी भएको र अहिले कम्युनिष्ट सरकार जोगाउन वन फडानी हुन लागेको आरोप भण्डारीले लगाए।

आजकै प्रतिनिधिसभाको बैठकमा फोरम नेपालका सांसद प्रदीप यादवले जसरी पनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने माग गरे। निजगढ विमानस्थल निर्माण हुँदा केही पक्षहरुले विरोध गर्ने गरेको बताउँदै उनले विमानस्थल जसरी पनि निर्माण हुनुपर्ने धारणा राखे।

यादवको धारणासँगै सत्ता साझेदार दल फोरम नेपालमा निजगढ विमान स्थल निर्माणका बारे दुई धार देखिएको हो।

फोरमकै सांसद गिरीले निजगढ विमानस्थल बनाउन रुख काट्नु हुँदैन भनेर सामाजिक सञ्जालमा अभियान पनि चलाएकी छिन्। -पहिलाेपाेस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.