
काठमाण्डाैं : राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखी थारु कल्याणकारिणी सभाकाे २२औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने भएका छन्। शनिबार उनले अध्यक्ष पदकाे उम्मेदवारी घोषणा गरेका हुन्।
उनले आफ्नो इच्छाभन्दा पनि जिल्ला जिल्लाका युवा, विद्यार्थी, केन्द्रीय पार्षद र थारु अधिकारकर्मीहरुको दबाबका कारण उम्मेदवारी दिएको बताए। ‘यो उम्मेदवारी मेरो चाहनाभन्दा पनि मलाई सबै ठाउँबाट दिएको दबाबको उपज हो। उहाँहरुको चाहनालाई मैले नकारे म असक्षम ठहिरन्छु। त्यसैले २२औं महाधिवेशनमा मैले अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेको हुँ,’ उनले सञ्चारकर्मीमाझ भने।
उनले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा १० बुँदे एजेण्डासमेत प्रस्तुत गरेका छन्। उनले आफ्नो उम्मेदवारी टीकापुर विद्रोह फसाइएका थारुहरुको लागि, थरुहट स्वायत्त प्रदेश स्थापनाको लागि, राज्यसँग भएका सहमति सम्झौता कार्यन्वयनका लागि, थाकसभित्रका बेथितिहरु अन्त्यका लागि, थाकसको संगठन व्यवस्थित र विस्तारको लागि, थाकसको आफ्नै भवन निर्माणका लागि र थरुहट आन्दोलन जारी राख्नका लागि उम्मेदवारी दिएको विज्ञप्तीमा उल्लेख गरेका छन्।
यसअघि हालका अध्यक्ष धनिराम चौधरी र चितवनका विश्राम थारुले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गरेका थिए।

-थारूवान



