
हुलाकी न्यूज, काठमाडौं : विभिन्न देशमा सक्रिय मधेश र मधेशीसँग सम्बन्धीत ८ वटा संगठनले राम मनोहर यादव मृत्यु प्रकरणको छानविनको माग गरेका छन्।
प्रहरी हिरासतमा मृत्यु भएका बाँके जिल्लाका राम मनोहर यादवको घटना संकास्पद रहेको भन्दै छानविनको माग गरिएको हो।
अमेरिका, बेलायत, अस्ट्रेलिया र भारतलगायतका विभिन्न राष्ट्रमा सक्रिय मधेशीहरुको संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गरी छानविनको माग गरेका छन्।
एशोसिएसन अफ नेपाली मधेशीज् इन यूकेका अध्यक्ष पुष्कर पटेल, अस्टायन मधेशी समाज यूकेका प्रतिनिधि सुदीलाल यादव, मधेश मानव अधिकार (मधुर) अमेरिकाका सचिव चन्दन सिंह र मधेशी कम्युनिटी इन भिक्टोरिया अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र रौनियारले विज्ञप्ती जारी छानविनको माग गरेका छन्।
यसैगरी, एशोसिएशन इन नेपाल तराइयन इन अस्ट्रेलियाका अध्यक्ष अरुण ठाकुर, गैर आवासीय मधेशी संघका प्रतिनिधि सुजित ठाकुर, युनाइटेड मधेशी दिल्लीका अध्यक्ष अलोक साह र एशोसिएशन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)का अध्यक्ष विजय कुमार सिंहले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन्।
नेपाल सरकारका उपप्रधान एव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका चार जना मध्ये राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको थियो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेको उपेन्द्र यादवकै निर्देशनमा उनीहरुलाई पक्राउ गरिएको भन्दै प्रहरीकै यातनाका कारण मृत्यु भएको हुन सक्ने आशंका राम मनोहरका परिवारले व्यक्त गरेका छन्।
राम मनोहर मृत्यु प्रकारणको छानविनका लागि र दाहसंकारका लागि परिवारजनले माग गर्दै आएको छ।
मृतक यादवप्रति विभिन्न देशमा रहेका मधेशीसँग सम्बन्धीत संघ–संगठनहरुले श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानविनको माग गर्दै आएको छ।




