हुलाकी न्यूज, काठमाडौं : प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवका विषयमा गृहमन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै यातनाबाट मृत्यु भएको भन्ने समाचारमा सत्यता नरहेको जनाएको छ।
आइतबार साँझ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हिरासतमा रहेको समयमा अस्वस्थ्य भएका राम मनोहर यादवको उपचारका लागि अधिकतम प्रयत्न गर्दा गर्दै पनि भएको निजको मृत्युको विषयलाई लिएर प्रहरीको हिरासतमा मृत्यु भएको, यातना दिईएको, मानवोचीत व्यवहार नगरेको जस्ता विषयहरु समाचार माध्यममा आएकोमा यसमा कुनै सत्यता नरहेको सर्वसाधारण सबैलाई अनुरोध छ।’
गृहमन्त्रालयको विज्ञप्तीमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यक्रममा हुलहुज्जत गरी कालो झण्डा देखाउने र विखण्डन सम्बनधी नारा लगाउने राम मनोहर यादवसमेत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरुलाई जिल्ला अदालत बर्दियाबाट प्रथम पटक सात दिन म्याद थप भइ अनुसन्धानका लागि हिरासतमा राखिएको अवस्थामा राम मनाहेर यादव एक्कासी विरामी परेको विज्ञप्तीमा जनाइएको छ।
राम मनोहरको मृत्यु उपचाररत अवस्थामा त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा भएको गृहमन्त्रालयले जनाएको छ।
तर स्वतन्त्र मधेश गठबन्धनसहित विभिन्न मानव अधिकारवादी संस्थाहरुले राम मनोहरको मृत्यु प्रहरीको यातनाबाट भएको भन्दै छानविनको माग गरेको छ।
तराई मानव अधिकार रक्षक सञ्जाल, युनाईटेड मधेशी, गैर आवासीय मधेशी संघलगायतका संस्थाहरुले घटनाको छानविनको माग गरेको छ।