हुलाकी न्यूज, (दोहा) कतार : नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका राम मनोहर यादवको सम्मानमा विभिन्न देशमा रहेका मधेशीहरुले श्रद्धाञ्जली सभा गरेका छन्।

विश्वभरी छरिएररहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले एक सेप्टेम्बरमा सहिद यादवको शोकमा श्रद्धाञ्जली सभा गरेको छ।

कतारको अल वाकरा, अल खोर, अबुनखला, अबुनखला पेट्रोल पम्फ र बरवा सिटीमा सयौंको संख्यामा उपस्थित मधेशीहरुले सहिद यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानविनको माग गरे।

यसैगरी शनिबार नै गैर आवासीय मधेशी संघ भारतको देहरादूनमा सहिद यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

यसैगरी मलेसिया, अस्ट्रेलिया र दुबइमा रहेका मधेशीहरुले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए।

उपप्रधान एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सभामा सहभागी हुन पुगेका स्वतन्त्र मधेश गठबन्धनका पश्चिम क्षेत्रीय संयोजक इरफान अहमद शेख, जिल्ला सहसंयोजक हरपाल सिहं सोडी, जिल्ला सदस्य राजीत राम बर्मा र जिल्ला सदस्य राममनोहर यादवलाई जिल्ला समन्वय समिति बर्दियाको सभा हलबाट बाहिर बोलाएर भाद्र ७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरुलाई राजद्रोहको मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो।

बाँके गनापुर कपासी (जानकी गाउँपालिका ( ६) बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती करिब २ बजे बाटोमै मृत्यु भएको हो। बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भए पछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगंज नर्सिङ्ग होममा लगिएको थियो। डाक्टरहरुले नर्सिङ्ग होममा पनि उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौं तत्कालै पठाउन आग्रह गरेका थिए। तर प्रहरीले ढिला सुस्ती गरी एम्बुलेन्सबाट काठमाडौं ल्याउने क्रममा मृत्यु भएको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.