हुलाकी न्यूज, काठमाडौं :
रौतहटको लालबकैया नदीमा डुँगा पल्टिदा भएको दुर्घटना पुलको कारण नभएको पप्पु कन्सट्रक्सनले दाबी गरेको छ।

सुरक्षाको कुनै पनि उपाय अपनाउन नसकेको, पानीको बहाब धेरै भएकोले बेला धेरै पुरानो डुँगा चलाउँदा दुर्घटना भएको कन्सट्रक्सनले दाबी गरेको छ।

उक्त दुर्घटनाका सन्दर्भमा छानविन भइरहेकोले सत्यतथ्य बाहिर आउने जानकारी दिदै कन्सट्रक्सनका पूर्व अध्यक्ष एवं संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले राजनीतिक दबाबका कारण आफुहरुलाई बदनाम गराउने प्रयास भइरहेको बताए।

‘धेरै पुरानो कुहिएको डुँगामा ४० जनाभन्दा बढी सवार हुनु, पानीको बहाव धेरै भएको बेला बाँसको ढठाले थेग्न नसक्नु र डुँगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाउनुले दुर्घटना भएको हो।’ रौनियारले भने,‘सुरक्षाको उपाय नअपनाउँदा यसअघि पनि त्यहाँ कयौं पटक दुर्घटना भएको हो। त्यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनु पर्छ।’

‘पुल निर्माणमा ढिलाई भएको कुरा बेग्लै हो र दुर्घटनाको कुरा बेग्लै हो। सरकारको तर्फबाट समय मै बजेट निकासा नहुँदा निर्माण कार्यहरुमा ढिलाइ भएको हो। सम्बन्धित निकायबाट समय पनि थप गरिएकै हो। यस विषयमा सम्बन्धीत निकायबाट हुने अनुगमन र काम कारवाहीका लागि सँधै तयार छौं।’ रौनियारले भने,‘तर राजनीतिक दबाबका कारण हामीलाई बदनाम गर्नु उचित होइन।’

सरकारको नीतिका कारण मधेशका जिल्लाहरुमा निर्माण सामाग्री समयमा उपलब्ध हुन नसकेको बताउँदै रौनियारले भने,‘मधेशका जिल्लामा गिटी, बालुवा ल्याउन निकै अपठ्यारो बनाइएको छ। निर्माण सामाग्री नै सहज रुपमा नपाएपछि मधेशका जिल्लामा भौतिक पूर्वाधार निर्माणका काम कसरी अगाडि बढाउने? पहाडमा जहाँबाट पनि गिटी, बालुवा, ढँगा ल्याउने छुट छ। उनीहरुलाई पहाड नै उपलब्ध गराइन्छ। तर मधेशमा खोलाबाट बालुवा झिक्दा पनि सरकारी र गैरसरकारी पक्षले रोक्छ।’

सरकारले ठूलो संख्यामा पुल निर्माणको सम्झौता गरेको तर १० प्रतिशत बजेट पनि निकासा नगर्दा नेपालका धेरै स्थानमा पुलहरु अलपत्र परेको उनको दाबी रहेको छ।

गत शनिबार साँझ सात बजेतिर लाल बकैया नदीमा करिब चालिस जना सवार डुँगा दुर्घटना भएको थियो। पानीको अत्याधिक बहाबका कारण डुँगालाई बगाउँदा निर्माणाधिन पुलको पिलरमा गएर ठोकिएको थियो। केहीले पानीमा पौडेर ज्यान जोगाएका थिए भने केहीको उद्धार गरिएको थियो। जसमध्ये पाँच जनाको लास फेला परेको छ।

मृतक परिवारलाई प्रदेश २ सरकार र स्थानीय निकायहरुले आर्थिक सहयोग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.