
हुलाकी न्यूज, काठमाडौं : राज्यको विभेदका कारण थारुहरु पनि सीके राउतको बाटोमा हिड्न लागेको थारु अगुवा सुरेन्द्र चौधरीले बताएका छन्।
तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा घटना भएको तीन वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले भने,‘राज्यको दमनका कारण मेरो ७६ वर्षीय बुबाले भन्नु भयो अव सीके राउतलाई बोलाउ। अव स्वतन्त्र हुनु बाहेको विकल्प छैन। यो राज्यलाई देखेर म विखण्डनको धारमा पुगेको छु।’
‘मलाई मेरो देशको खेलाडीले विदेशमा जित्दासमेत खुशी हुँदैन। मलाई राज्यले नै विखण्डनको पक्षमा लगेको छ।’ चाैधरीले भने।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
थारु पत्रकार संघले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले टीकापुर घटनाका सन्दर्भमा तयार पारिएको आधा दर्जन प्रतिवेदनहरु सार्वजनिक गर्न माग गरेका छन्। टीकापुर घटनासहित तेस्रो मधेश आन्दोलनका समग्र विषयमा छानविन गरी तयार पारिएको पूर्वन्यायाधिश गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न विशेष जोड दिए।
प्राध्यापक डा कृष्ण हाच्छेथुले थारु सांसदहरुलाई संसदमा आजाव उठाउन आग्रह गरे। उनले प्रतिवेदन सार्वजनिकसहित टीकापुर घटनालाई राजनीतिक ढंगले समाधान गर्नु पर्ने बताए। नेपालको सञ्चारकर्मीहरुले पनि घटनालाई वंग्याएको आरोप हाच्छेथुले लगाए।

लेखक भाष्कर गौतमले थरुहट आन्दोलनलाई विस्तार गर्नु पर्ने अवस्था आएको सुनाए।
राजपाका नेता राजकुमार लेखीले मधेशी–थारु नेताहरुले मिलेर आन्दोलनलाई अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए। उनले थारु र मधेशीबीच राज्यले नै विभाजन ल्याएको बताउँदै थारु र मधेशीबीचको एकतामा जोड दिएका थिए।
थारुहरुले नै थारु नेताहरुमाथि विश्वास नगरी गैर थारुहरुलाई नेता बनाउन खोजेकोले यस्तो परिस्थिति आएको लेखीले दाबी गरे।
पूर्वराजदुत प्राध्यापक विजयकान्त कर्णले अहिलेका कम्युनिष्ट र कांग्रेसले पनि एकताका हतियार उठाएको स्मर्न गराउँदै टीकापुर घटना राजनीतिक विद्रोह भएको दाबी गरे। उनले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न आग्रह गरे।

टीकापुर घटनामा पक्राउ परेकोहरुको सर्वोच्च अदालतमा बहस गरिरहेका अधिवक्ता शंकर लिम्बुले अदालतबाट पनि थारुहरुले न्याय पाउन मुस्किल रहेको बताए। ‘कुनै पनि मुद्दामा पूर्पक्षका लागि एक वर्षसम्म मात्र थुन्न सकिन्छ तर थारुहरुलाई तीन वर्षदेखि थुनेर राखिएको छ।’ अधिवक्ता लिम्बुले भने,‘थारुहरुलाई थुन्ने कुनै प्रमाण सरकारसँग छैन तर अदालतले थारुहरुसँग विभेद गरेर अहिलेसम्म थुनेको छ।’
टीकापुर घटनाका सन्दर्भमा संयुक्त राष्ट्र संघसहित विभिन्न निकायमा कुरा उठेको बताउँदै अन्तर्राष्ट्रिय स्तरबाट पनि थारुमाथि भएको दामनको विरोध भएको वक्ताहरुले बताएका थिए।
विश्लेषक तुलानारायण साहले मधेशी र थारु मिल्नको विकल्प नरहेको प्रतिक्रिया दिए। मधेशी र थारुले एकै साथ आन्दोलन गर्दा राज्य हल्लिने बताउँदै राज्यकै षड्यन्त्रमा थारु र मधेशीबीच विवाद गराउन खोजिएको उनले बताए।
कार्यक्रममा कृष्णराज सर्वहारीले टीकापुर घटनाको बारेमा विस्तृत जानकारी राखेका थिए।

तस्बीर : थारु पत्रकार सघ



