हुलाकी न्युज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले सोमबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा दन्त उपचार केन्द्र र एक्सरे सेवाको उद्घाटन गरेको छ ।
सोमबार भएको दन्त उपचार केन्द्र र एक्सरे सेवाको उद्घाटनमा केन्द्रका प्रमुख डा. संजीव कुमार झाको अध्यक्षतामा र नगर प्रमुख बसन्त कुमारको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको थियो । यस सेवा केन्द्रबाट बढीभन्दा बढी जनतालाई कसरी सेवा दिन सकिन्छ त्यसमा आफू चिन्तित रहेको र असोजबाट जनताले अनुभुती हुने गरी नगरपालिकाले काम गर्ने साथै नगरपालिकालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको नगर प्रमुखले बताएका छन ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले जनतालाई सरल तरिकाले सेवा उपलब्ध गराउन प्रथम नगर सभाबाट पारित योजना अनुसार दन्त उपचार केन्द्रको उद्घाटन सफल भएको र आगामी दिनमा आधारभूत स्वास्थ्य सेवालाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने तथा केही दिन भित्रै आँखा र कानको उपचार गर्ने व्यवस्था भैरहेको बताए ।
जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन प्रसाद यादवले कञ्चनरुप नगरपालिका अग्र पंक्तिमा अगाडि बढेकोमा खुसी व्यक्त गर्दै आँखा र हातको सम्बन्ध जस्तै सम्पूर्ण सरोकारवालाहरु एक भएर अगाडि बढेमा अवस्य राम्रो काम हुने जनाएको छ ।



