
हुलाकी न्यूज, धनगढीः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले जेलमा रहेका थारु अगुवाहरुसँग भेटघाट गरेका छन्।
टीकापुर घटनाको आरोपमा धनगढी कारागारमा रहेका थारु नेता तथा कार्यकर्ताहरुसँग भेट्न आइतबार कैलालीको धनगढी पुगेका ठाकुर सोमबार फर्किएका छन्।
टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचना बारे ठाकुर र लक्ष्मण थारुलगायतका बीच छलफल भएको थियो।
कारागारमा भेटघाट पछि टीकापुर घटनाबारे सञ्चारकर्मीको जिज्ञासामा नेता ठाकुरले भने, ‘टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको छ। अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा हामी विश्वस्त छौ । १/२ महिनमै त भन्दैनौ तर यही वर्ष नै रिहाइ हुनुहुनेछ।’
उनले टीकापुर घटनालाई राज्यले अझै अपराधिक नजरले हेरेको बताउँदै ‘घटना राजनीतिक हो। तर, घटनालाई आपराधिक ढंगले हेरिएको छ। आपराधिक ढंगले मात्रै हेरिनु हुन्न’, ठाकुरले भने।
नेता ठाकुरले सरकार र राजपाबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा पनि शिथिलता देखिएको बताउँदै निर्वाचनपछि वर्तमान सरकारलाई बहुमत प्राप्त भएपनि जनआकांक्षा तथा संविधान संशोधन, मधेशी–थारुलगायतको माग सम्बोधन अझै नभएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएको जानकारी गराउँदै ठाकुरले भने,‘अव पनि थारुहरु जेलबाट रिहा भएन भने पुनः अर्को आन्दोलनका लागि हामी तयार रहनु पर्छ।’



