
हुलाकी न्यूज, जनकपुरधाम : मधेश आन्दोलनका सहिद परिवारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशमा नआउन आग्रह गरेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै मधेश प्रवेश नगर्न आग्रह गरेका छन्।
मधेश आन्दोलनका घटनाको छानविन भएपनि अहिलेसम्म सहिद परिवारले न्याय नपाएकोले प्रधानमन्त्री ओलीको मधेश आउने विषयमा सहिद परिवारले आपत्ति जनाएको हो।
उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश सभामा सम्बोधन नगर्न पनि आग्रह गरेका छन्। यसैगरी प्रदेश सभा सदस्यहरुलाई बैठक बहिस्कार गर्न आग्रह गरेका छन्।
सहिद परिवारको आग्रहका बाबजुद प्रधानमन्त्री प्रदेश २ मा आएको खण्डमा विरोध गर्ने चेतावनी दिइएको छ।
ज्ञापन पत्रमा भनिएको छ,‘प्रधानमन्त्रीज्यू हामी सहिद परिवारलाई न्याय नदिलाईकन कृपया प्रदेश नं २ मा नआईदिनु होला । अन्यथा हामी सहिद एवं घाइते परिवार तपाइँको बिरोध गर्न कुनै कसर बाँकी राख्ने छैनौ’
यसैबीच ज्ञापनपत्र बुझदै मुख्यमन्त्री राउतले आफुले यस विषयमा ध्यान दिने आश्सावन दिए।
ज्ञापन पत्र
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु,
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवार,काठमाण्डौ
मार्फत,
माननिय मुख्यमन्त्री लालबाबु राउत ज्यु,
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,
जनकपुरधाम, प्रदेश नं २
विषयः प्रदेश नम्वर दुईको प्रदेशसभालाई प्रधानमन्त्रीको सम्वोधन हुने कुरामा मधेस आन्दोलनका शहिद परिवारको तर्फबाट आपत्ति ।
महोदय,
नेपालको तराई मधेस तथा थरुहट क्षेत्रमा संविधान निर्माण हुने क्रममा तथा संविधान जारी भइसकेपश्चात पनि त्यसका प्रकृया तथा समाविष्ट विषयवस्तुप्रति असहमति जनाउदै विभिन्न प्रकारका आन्दोलनहरु भएका थिए र त्यस क्रममा थुप्रै जनधनको क्षति भएको थियो । ५० जनाभन्दा वढी व्यक्तीहरुले शहादत प्राप्त गरेका थिए भने असंख्य व्यक्तिहरुलाई घाउचोट लागी अंगभंग भएको थियो । यसै आन्दोलनहरुको क्रममा भएको हत्या, हिंसा, आगजनी तथा तोडफोड लगायतका घटनाहरुको सम्बन्धमा छानविन गरि सरकारलाई सत्यतथ्य सहितको प्रतिवेदन प्रस्तुत गर्न सर्वोच्च अदालतका पुर्व वरिष्ठ न्यायाधीश मिाननिय गिरीश चन्द्र लालको अध्यक्षतामा एक तराई मधेस थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनितिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धि उच्च स्तरीय आयोगको गठन नेपाल सरकारले गरेको कुरा यहाँलाई विदितै छ । सो आयोगले विभीन्न घटनाहरुको छानविन गर्ने आफनो कार्य सम्पन्न गरि एउटा प्रतिवेदन यसै सरकारलाई मिति २०७४।८।२८ गते वुझाइसकेको छ ।
यो प्रतिवेदन सरकारलाई वुझाइसकेको महिनौ बितिसक्दापनि सो प्रतिवेदन हालसम्म सार्वजनिक नहुँदा हामी सहिद परिवार मर्माहत भएको महशुस मात्रै गरिराखेका छैनौ, अपितु हामीले न्याय नपाउने हो की भने संत्रासमा जीवन बिताउन बाध्य भएका छौ ।
देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर पनि यस गम्भीर विषयमा यहाँले कुनै चासो नलिएको विषयले हामी पीडित परिवार तथा आम मधेसी जनतासमेत अपमानित भएको महशुस गरेका छौ । यहाँले विगतमा हाम्रा परिवारका सदस्यहरुको हत्यालाई अपमानजनक रुपमा “दुई चारवटा आँप झरेको” भनि गर्नुभएको टिप्पणी हामी कहिल्यै बिर्सन सक्दैनौ । अहिलेको अवस्थामा तपाईले ती र त्यस्ता अपमानजनक शब्द बोलेको र हाम्रौ परिवारका सदस्यहरु राज्यद्धाारा हत्या गरिएको कुरामा नैतिक रुपले जिम्मेवारी लिंदै माफी माग्ने मन बनाउनुभएको छ कि छैन हामीले केहि थाहा पाएका छैनौँ ।
यसैक्रममा हामीले जानकारी पाए अनुसार तपाई नेपालको प्रधानमन्त्री केपी ओली प्रदेश नं २ को भ्रमणमा आउदै हुनुहुन्छ । तपाईले प्रदेशसभामा समेत भाषण गर्ने कार्यक्रम रहेको छ । यस सन्दर्भमा हामी प्रदेश २ का माननीय मुख्यमन्त्रीज्यू मार्फत तपाईलार्ई सन्देश पठाउन चाहन्छौ । प्रधानमन्त्रीज्यू हामी सहिद परिवारलाई न्याय नदिलाईकन कृपया प्रदेश नं २ मा नआईदिनु होला । अन्यथा हामी सहिद एवं घाइते परिवार तपाइँको बिरोध गर्न कुनै कसर बाँकी राख्ने छैनौ र लालआयोगको प्रतिवेदन यथाशिर्घ सार्बजनिक गरी सम्पुर्ण नेपाली जनतालाई न्याय र समानता सुनिश्चित भएको तत्परता देखाउन सक्नुभएन भने तपाईको सम्बोधनले प्रदेश नम्वर दुईको जनतालाई मल्हम होईन घाउ कोटयाएको महशुश हुनेछ । अन्य कुराको लागी तपाई आफै सचेत हुनुहुन्छ भन्ने हामीलाई बोध छ ।
माननीय मुख्यमन्त्री लालवावु राउत ज्यु,
प्रधानमन्त्रीको उपरोक्त उल्लेखित भ्रमण र प्रदेशसभा सम्बोधनले हामीलाई कसरी पिरोल्नेछ भन्ने कुरामा यहाँ अवगत हुनुहुन्छ । तसर्थ प्रदेश नम्वर दुईका जनता तथा मधेसी शहिदहरुलाई याद गरेर यस सम्वोधन कार्यक्रमलाई स्थगित गर्न अनुरोध गर्दछौ । साथै यसै पत्रमार्फत सवै प्रदेश सभा सदस्यहरुलाई सो दिनको प्रदेश सभा वैठक वहिष्कार गर्न अनुरोध गर्दछौ ।
बोधार्थः
सभामुख, प्रदेश सभा, प्रदेश नम्वर २
माननीय प्रदेशभाका सवै सदस्यहरु, प्रदेश नम्वर २



