हुलाकी न्युज, सप्तरी । राजविराज नगरपालिकाले नागरिकता सिफारिसमा निःशुल्क गर्ने निर्णय गरेको छ ।
चालू आर्थिक बर्षदेखि नागरिकता सिफारिस वापत लाग्ने दस्तुर पुरै मिनाहा गरिएको नगरपालिकाका प्रमुख शम्भु यादवले बताए । उनले नागरिकको मौलिक हक भएकाले नागरिकता सिफारिस दस्तुर पुरै मिनाहा गरिएको बताए ।
यसैगरी नगरपालिकाले सडक अतिक्रमण गरी कठघरा राखेमा १ हजार ५ सय, ठेला राखेमा एक हजार र अन्य सामग्री राखेमा ५ सय रुपैयाँ जरिवाना लिने निर्णय पनि गरेको छ ।
सार्वजनिक स्थल बाटोघाटोमा घर निर्माणमा निस्केको मलवा सामग्रीहरु राखेमा २४ घण्टाभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यक्तिलाई सूचना दिने र नउठाएमा पछि नगरपालिकाले उठाउने तर त्यस वापत ५ सय रुपैयाँ दस्तुर लिने निर्णय गरेको छ ।
नगरपालिकाले छाडा, गाईवस्तु नियन्त्रणका लागि पनि जरिवाना निर्धारण गरेको छ । छाडा, गाईवस्तुलाई समातेर कान्जी हाउसमा ल्याएको पहिलो दिन नगरपालिकाले सम्बन्धित धनीसँग २ सय रुपैयाँ जरिवाना लिनेछ ।
दोस्रो दिन समातेमा २ सय ५०, तेस्रो दिन ३ सय, चौथो दिन ३ सय ५०, पाँचौ दिन ४ सय, छैठौं दिन ४ सय ५०, सातौ दिन ५ सय रुपैयाँ लिने र त्यसपछि लिलामी प्रकृयामा लग्ने नगरपालिकाले जनाएको छ ।
लिलाम प्रकृयामा जानुअघि धनी आएमा १ हजार रुपैयाँ जरिवाना लिने निर्णय भएको यादवले जानकारी दिए ।



