हुलाकी न्युज, सप्तरी । साउनको आधाआधीमा सप्तरीमा पानी नपर्दा रोपाइँमा ढिला भएको छ । वर्षा माग्दै स्थानीय प्रशासन र जनप्रतिनिधिले बिहीबार तिरहुत गाउँपालिकाको भेडिया मठमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहीबार विशेष पूजा गरेका छन ।
सप्तरीमा पानी नपरेर खडेरीको स्थिति आउने संकेत देखिए स्थानीय प्रशासकले भेडिया मठमा पूजा गर्नुपर्ने र पूजापछि वर्षा हुने जन विश्वास रहिआएको छ । गतवर्ष ठूलो वर्षा हुँदा भेडिया मठको चारैतिर डुबान भएको थियो । जिल्लाको कुल ७० हजार हेक्टर जग्गामध्ये ६० प्रतिशत आकासे पानीकै भरमा खेती हुने गरेको छ । यस वर्ष पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको छ ।
भेडिया मठमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक खेम थापा, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेरले बिहीबार विशेष पूजा गरे । अघिल्ला वर्षमा उक्त पूजाको खर्च जिल्ला मालपोत कार्यालय वा जिवसबाट हुँदै आएकोमा यस वर्ष तिरहुत गाउँपालिकाले पूजा खर्च बेहोरेको छ ।
तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेरले विशेष पूजाका लागि १ लाख ५० हजार रुपैयाँ छुट्याएको बताए । ‘पानी नपर्दा खडेरीको संकेत देखियो,’ उनले भने, ‘वर्षौंदेखि पानी माग्दै विशेष पूजा गर्ने प्रचलनलाई यस वर्षदेखि गाउँपालिकाका तर्फबाट प्रबन्ध मिलाएको छु ।’
भेडिया मठमा प्रशासनका प्रमुख र जनप्रतिनिधिले सरकारी खर्चमा पूजा गरे जिल्लामा वर्षा भएर खडेरी नहुने जानकारीपछि आफू पनि पूजामा सहभागी भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।
असारको प्रारम्भमै प्रत्येक वर्ष वर्षाका लागि सरकारी लगानीमा पूजापाठ गर्ने प्रचलन दशकौंदेखि रहिआएको छ । राम्रो कृषि उपजका लागि उक्त मठमा पूजाआजाको परम्परा रहिआएको स्थानीयको भनाइ छ । पूजा–अर्चना गरेपछि अतिवृष्टि र अनावृष्टि नहुने विश्वसा रहिआएको स्थानीय उपेन्द्र मुखियाले बताए ।
गुरु नानकका अनुयायी बनसखण्डी बाबा भएका कारण यस मठलाई सिख धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा मान्दैआएका छन् । खुला चौर जस्तो ठाउँमा अति उचाइमा रहेको ठूलो ढिस्कोमा बाबा बनसखण्डी मठ निर्माण गरिएको छ ।



