
हुलाकी न्यूज, जलेश्वर : विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ। दुषित पानीका कारण कैदी बन्दीमा स्वास्थ्य समस्या आउन सक्ने स्थानीय चिकित्सकहरुले बताएका छन्।
आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए।
करीब १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको जेलर ठाकुरले बताए।
चार दिनदेखिको अविरल वर्षाका कारण कारागारको चारैतिर पानी नै पानी भएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।
वर्षाको पानीले कारागारको बाहिर मुलगेटभित्र कैदीबन्दी प्रवेश गर्ने मुलढोकासम्म पानी भरिएको चौकीदार श्रीनारायण महतोले बताए। यसरी लगातारको वर्षाका कारण कारागार जलमग्न भएपछि कारागारको कामकाज प्रभावित भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
कारागार व्यवस्थापनले तत्कालै कैदीहरुको राम्रो स्वास्थ्य परिक्षण गराउनु पर्ने स्थानीय चिकित्सकहरुले हुलाकी न्यूजलाई बताए। क्षमताभन्दा बढी कैदी र अव्यवस्थित कारागारका कारण कयौं कैदीहरु विरामी पर्न थालेका छन्।
गत वर्षको समाचार



