
हुलाकी न्यूज, काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चीन सरकारको प्रशंसा गरेका छन्। नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै यादवले चीन सरकारको प्रशंसा गरेका हुन्।
चिनियाँ दुतावासद्वारा एम्बुलेन्स वितरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले नेपालको सडक सञ्जाल, जलविद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको पूर्वाधार विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्वास्थ्य केन्द्र र अस्पतालको पहुँचबाट टाढा रहेका जनताका लागि एम्बुलेन्स उपयोगी हुने बताए ।
मन्त्री यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबै जनताकाबीचमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि यो वर्ष एक हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरी चिकित्सकलाई जनताको सेवामा समर्पित गराउने प्रक्रियामा लागिपरेको बताए।
नेपाल सरकारको मुखपत्र राष्ट्रिय समाचार समितिका अनुसार उपप्रधानमन्त्री यादवले १५ श्ययाका अस्पताल स्थानीय सरकारलाई, जिल्ला र क्षेत्रीय अस्पताल प्रदेशलाई र केन्द्रीय अस्पताल तथा प्रतिष्ठानलाई केन्द्र सरकार मातहत रहनेगरी नीतिगत प्रक्रिया अघि बढाइएको जानकारी गराए।
‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नेपालमा सबै जनताको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन र स्वास्थ्यलाई सेवाको भावनाबाट अघि बढाउने प्रणालीको विकासका लागिपरेका छौँ । अब सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिक धाउने वातावरणको अन्त्य गरी अतिरिक्त समयमा पनि जनतालाई सेवा दिनेगरी व्यवस्थापन गर्दैछौँ’, यादवले भने।
स्वास्थ्य बीमा सेवाका माध्यमबाट सबै जनतालाई गुणात्मक उपचार पु¥याउने उद्देश्यले ७७ वटै जिल्लामा बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजाने उपप्रधानमन्त्रीको भनाइ थियो।
नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच वटा एम्बुलेन्स क्रमशः मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, जुगल गाउँपालिका सिन्धुपाल्चोक, भीमेश्वर नगरपालिका दोलखा, खाँदबारी नगरपालिका संखुवासभा र निबुवाटारी सहकारी स्वास्थ्य केन्द्र मध्यनेपाल नगरपालिका (लमजुङ) लाई हस्तान्तरण गरेको हो ।
समाजकोतर्फबाट उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान गरे।
चिनियाँ राजदूत होङले चीन नेपालको महत्वपूर्ण विकास साझेदार भएको दुई देशबीचको जनस्तरको सम्बन्धलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरिने उल्लेख गरिन्।
नेपालको उत्तरी क्षेत्र भौगोलिक र सांस्कृतिक हिसाबले चीनसँग निकट रहेकाले सम्पर्क सञ्जाल, सडक, रेल्वे, जलविद्युत पर्यटन आदि क्षेत्रमा विकास साझेदारिता, सहयोग अभिवृद्धिको दायरालाई फराकिलो बनाएर लैजाने विश्वास दिलाए।



