रंजन भण्डारी, जलेश्वर, २३ आश्विन । महोत्तरीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा छ जना घाईते भएका छन् । शुक्रबार भएका दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ ।
महोत्तरीको बर्दिवास तिर जाँदै गरेको ज ७ प ५४७६ नं.को मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको बा १३ प ७२९३ नं.को अर्को मोटरसाईकलले ठक्कर दिँदा हात्तिलेट ४ का ३२ वर्षीय दिपन चौधरीको दाहिने खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनलाई लालगढस्थित मोडेल अस्पतालमा उपचारका लागि पुर्याइएपनि त्यँहाबाट धरान रेफर गरिएको छ । उनलाई ठक्कर दिने गोनरपुरा ४ का सुधिर साह हाल हात्तिलेट प्रहरीको नियन्त्रणमा रहेका छन् भने दुबै मोटरसाईकल रामगोपालपुर प्रहरी चौकीमा रहेको रामगोपालपुर चौकीले जनाएको छ ।
यता महोत्तरीस्थित पडौल स्थानबाट भाकल चढाएर आउँदै गरेको बिआर ३२ पिए ०५३८ नंं.को भारतिय टेम्पो जलेश्वरको भार्गवसर मन्दिर र सुगाको बिचबाटोमा पल्टिँदा पैदल यात्री साविक सुगा गाविस १ का कालिकान्त झा गम्भीर घाईते भएका छन् । जलेश्वर अस्पतालमा उनको टाउकोमा ६ टाका लगाईएको छ भने हाल जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा थप उपचार भइरहेको झाका आफन्तले जनाएका छन् । सोहि दुर्घटनामा टेम्पो भित्रै रहेका भारत साहरघाटको नजिकै घर भएका सेवक साहको समेत टाउकोमा गम्भीर चोट लागेको, दाहिने थाई टुटेको र आन्तरिक रक्तश्राव भइरहेकोले तत्काल थप उपचारको लागि जलेश्वर अस्पतालबाट रेफर गरी भारतको दरभंगास्थित आर्मी मेमोरियल अस्पतालमा आईसियुमा भर्ना गरिएको छ ।
टेम्पो दुर्घटनामा अन्य घाईतेहरु भारतको साहरघाटका रामअशिष पुर्वे ( दाहिने खुट्टा भाँचिएको, शरिरभरी चोटपटक लागेको), सोहि ठाउँकी ललिता देवीको नाकमा चोट लागेर रक्तश्राव हुँदै गरेको र धनुषा तुल्सियाहीका विलट राउतको छातीमा चोट लागेको छ । सुगाका घाईते बाहेकका चालक लगायतका सबै एकै परिवारको रहेको घाईतेहरुले बताएका छन् । टेम्पो चालक मनोज पुर्वे र टेम्पो प्रहरीको नियन्त्रणमा रहेको छ ।




