
हुलाकी न्यूज, काठमाडौं : जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता उपलब्ध गराउने विषयमा प्रदेश २ सरकार र प्रमुख जिल्ला अधिकारीहरुबीच विवाद सुरु भएको छ।
प्रदेश २ सरकारले जारी गरेको निर्देशन प्रमुख जिल्ला अधिकारीहरुले अस्वीकार गरेका छन्।
प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले आठवटै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्धका आधारमा नागरिकता पाइसकेकाहरुको सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गर्न निर्देशन दिएका थिए।
संबैधानिक व्यवस्था र अदालतहरुको नजिरका आधारमा जन्मसिद्धका सन्तानलाई बंशजका आधारमा नागरिकता वितरणमा सहजता प्रदान गर्न सोमबार मन्त्री यादवले पत्राचार गरेका थिए।
प्रदेश २ सरकारका मन्त्री यादवको निर्देशनलाई पालना गर्न नसकिने प्रमुख जिल्ला अधिकारीहरुले प्रतिक्रिया दिएका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले प्रदेश सरकारको निर्देशन पालना गर्न नसकिने बताए।
प्रदेश सरकारको पत्र बारे केन्द्र सरकारको गृह मन्त्रालयमा लिखित पठाएको पराजुलीले बताए। केन्द्र सरकारको आदेश आएपछि मात्रै केही गर्न सकिने हुलाकी न्यूजलाई बताए।
यता पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले पनि प्रदेश सरकारको निर्देशन पालनाको सम्भावना नरहेको बताए।
केन्द्र सरकारको निर्देशन विपरीत नागरिकता वितरण गर्न नसकिने पौड्यालले जनाए।
हुलाकी न्यूजसँग कुराकानी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने,‘सिडियोहरुले प्रदेश सरकारको निर्देशन नमाने संघीय सरकारलाई लेखेर पठाउँदै छौं। संघीय सरकारले पनि नागरिकता सम्बन्धी समस्या समाधानमा सहयोग गरेन भने संघीय सरकारको विरुद्ध पनि आवाज उठाउन सक्छौं।’
प्रदेश २ सरकारका अनुसार सिडियोहरुको अस्वीकारोक्तीका विषयमा प्रदेश सरकारले बुधबार केन्द्र सरकारलाई पत्राचार गर्दैछ।



