
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकारमा तीन जना राज्यमन्त्री सिफारिस गरेको छ।
राजपाको भागमा परेको तीन मन्त्रालयमा मन्त्रीहरु यसअघि नै पठाइ सकिएपनि राज्यमन्त्रीहरु सिफारिस हुन सकेको थिएन।
राजपाबाट संघीय समाजवादी फोरम नेपालले आफ्ना कोटाका राज्यमन्त्री बनाए पनि राष्ट्रिय जनता पार्टी नेपालबाट राज्यमन्त्रीको सिफारिस हुन सकेको थिएन।
राजपाबाट उद्योग पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल, समाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मा र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डा.डिम्पल झालाई सिफारिस गरिएको छ।
राजपा अध्यक्ष मण्डलको बैठकले राज्यमन्त्रीको सिफारिस गरेको छ। तर औपचारिक घोषणा हुन बाँकी रहेको छ।
मुख्यमन्त्रीसहित फोरमको भागमा चार मन्त्रालय र राजपाको भागमा तीन मन्त्रालय रहेको छ। राजपाले राज्यमन्त्रीको नाम सिफारिस गरेसँगै प्रदेश २ को सरकारले पुर्नता पाउनेछ।
केही दिनभित्रै राज्यमन्त्रीहरुको शपथ ग्रहण हुने जनाइएको छ।



