वृजराज कुशवाहा, नवलपरासी २३ आश्विन । मधेश आन्दोलनका आन्दोलनकारीले चाडबाडका लागि भनेर मोटरसाइकल संचालनमा दिएको छुट फेरि नियन्त्रण गरेको छ । शनिवारदेखि नवलपरासीमा मोटरसाइकल चलाउन नपाइने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका मिडिया संयोजक राधेरमन पाण्डेले जनाएका छन् ।
मधेशी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी सीमा नाकाबन्दीमा केन्द्रित भइरहेको बेला मुख्य नाका बाहेक सीमाका अन्य स्थानबाट पेट्रोलियम पदार्थको अवैध पैठारी हुन थालेको थियो । अवैध पैठारीबाट भित्रिएका पेट्रोलियम पदार्थ जिल्लाका भित्री बजारका साथै जिल्ला बाहिर जान थालेपछि मोर्चाको नाकाबन्दी नै असफल बनाउने खतरा बढेको भन्दै यस्तो निर्णय लिनुपरेको मोर्चाले जनाएको हो ।
स्मिावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको अवैध पैठारीमा मोटरसाइकल बढी मात्रामा प्रयोग भइरहेको थियो । मोटरसाइकल तेज गतिमा चल्ने सवारी भएको हुनाले यसबाट राजमार्ग क्षेत्रमा पठाउने गरिएको थियो । दिभरमा एउटै मोटरसाइकलबाट आठ पटकसम्म ओहोरदोहोर गरेको पाइएको थियो । शुरुमा ट्यांकीमा भरेर नेपालमा आइ खन्याएर पुनः भर्न जाने र ल्याउने गरेका थिए ।
सहजै ल्याउन पाएपछि पछिल्लो समयमा गैलनमा भरेर डीजल र पेट्रोल एउटै मोटरसाइकलमा एकसय लिटरभन्दा धेरै बोक्ने गरेको पाइयो । एक मोटरसाइकलको प्रयोग गरी दिनमा १० हजार नाफा कमाउन सक्नेहरुको यस धन्दामा मोर्चाको निर्णयले ठूलो धक्का पुगेको ओसारपसारमा संलग्नहरुको प्रतिक्रिया छ । नवलपरासीको सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिएका पेट्रोलियम पदार्थ सुनवल, बर्दघाटदेखि जिल्लाका सबैजसो भागमा पुर्याउनुका साथै जिल्ला बाहिर समेत पुग्ने गरेको थियो ।
बढेको पेट्रोलियम तस्करीका कारण मोर्चाले गरेको नाकाबन्दीको प्रभाव समेत कमजोर बन्न थालेको महसुस गरिएपछि कठोर निर्णय लिनुपरेको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए । शुक्रबार बसेको मोर्चाको बैठकले पहिले अनुरोध गर्ने र नमाने वा बलजफ्ती गरे जफत गरिनुका साथै गाडीमा तोडफोड समेत हुनसक्ने कडा निर्णय लिएको छ ।
खेतीपातीको बेला भएकाले टेक्टर र कम्बाइण्ड हार्वेष्टरको बीलबुक साथमा राखे अतिआवश्यक मात्रामा डिजेल ल्याउन छुट दिने मोर्चाले जनाएको छ । शुक्रबार परासीमा बसेको मोर्चाको बैठकले काठमाडौंमा मधेशी नेताको घरमा गरिएको तोडफोडलाई साम्प्रदायिक मानसिकताको उपज भएको भन्दै निन्दा गरेको छ ।



