हदिश खुद्दार, जनकपुर, २३ असोज ।  झन्डै दुई महिनादेखि मधेसमा जारी आन्दोलनका कारण जनकपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले गत ३० साउनदेखि गरेको अनिश्चितकालीन मधेस बन्दका कारण जनकपुरलगायत पूर्वी तराईको जनजीवन अस्तव्यस्त भएको छ ।

बन्दका कारण जनकपुरबाट सञ्चालित लामो तथा छोटो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प छन् । जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्था पूर्ण रूपमा बन्द छन् ।

मोर्चाको आन्दोलन पछिल्लो समय नेपाल–भारत नाका तथा राजमार्गमा केन्द्रित भए पनि जनकपुर बन्द यथावत छ ।

मोर्चाले पछिल्लो १५ दिनदेखि धनुषास्थित नेपाल–भारतको छोटी भन्सार नाकासहित ६ वटै नाकामा धर्ना दिएपछि भारतबाट मालसामान जनकपुर आउन सकेको छैन ।

जटही, भरडिया, मैनाथपुर, खजुरीलगातयका नाकामा मोर्चाका नेता तथा कार्यकर्ता २४ घन्टे धर्नामा बसेका छन् । धर्नामा बसेका मोर्चा कार्यकर्ताले दैनिक उपभोग्यको सामग्री ५ देखि १० किलोसम्म निर्वाध आउन दिए पनि त्यसभन्दा बढी परिणाममा सामग्री ल्याउन दिँदैनन् ।

मालबाहक गाडीलाई नाकामै रोक्ने गरेका छन् । मोर्चाका नेता शेषनारायण यादवले नाकाबन्दी भएदेखि एउटा पनि गाडी जनकपुर नआएको दाबी गरे ।

मोर्चाले अनिश्चितकालीन मधेस बन्दको आह्वान गरेदेखि नै धनुषाका मुख्य भन्सार कार्यालयसहित छोटी भन्सार कार्यालय बन्द छ ।

औषधि र अक्सिजन अभाव

लामो समयदेखिको बन्दको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको छ । बन्दका कारण धनुषाका व्यापारिक केन्द्र जनकपुर महेन्द्रनगर, ढल्केबर, सबैला, यदुकुहा बजारमा औषधि तथा अक्सिजनको अभाव भएको छ ।

जनकपुर औषधि व्यवसायी संघले औषधिको चरम अभाव भएको जनाएको छ ।

बन्दका कारण बाहिरबाट औषधि आपूर्ति हुन नसकेपछि औषधिको चरम अभाव सिर्जना भएको संघका महासचिव प्रमोदकुमार अग्रवालले जानकारी दिए । उनका अनुसार अब बढीमा एक हप्ता पुग्ने औषधि मात्र व्यवसायीसँग मौज्दात छ ।

उनले अनेथेसिया, शल्यक्रियामा प्रयोग हुने औषधि साइटोपिन्नसहित अतिआवश्यक औषधि सकिन थालेको बताए । त्यस्तै, बिरामीलाई चाहिने आई फुल्ड (पानी) बढीमा पाँच दिनसम्मका लागि मात्र भएको उनले बताए ।

अग्रवालले भने, ‘हामीसँग भएको स्टक सकिन लागेको छ, औषधि आपूर्ति भएन भने विकराल अवस्था सिर्जना हुन्छ ।’ बन्दका कारण सिन्धुली, सर्लाही, महोत्तरीमा औषधि पठाउन नसकेकाले सो औषधिले अहिलेसम्म जनकपुरको माग धानेको उनको भनाइ छ ।

धनुषामा वार्षिक एक अर्बभन्दा बढीको औषधि कारोबार हुने गरेको उनले बताए । औषधिसँगै अक्सिजन ग्यासको पनि जनकपुरमा व्यापक अभाव छ । जनकपुरमा अक्सिजन ग्यास आपूर्ति भाजुरत्न र मिलयानीले गर्दै आएका छन् ।

मधेस बन्द भएदेखि जनकपुरमा अक्सिजन आउन नसकेको ती कम्पनीले जनाएका छन् । मधेस बन्द हुनुभन्दा अघि ल्याएको ग्यास दुई साताअघि नै सकिएको भाजुरत्नका जनकपुर प्रबन्धक मनोज ठाकुरले बताए ।

दुई सातायता अक्सिजनको कारोबार ठप्प रहेको उनको भनाइ छ । उता जनकपुर अञ्चल अस्पताल प्रमुख डा. सञ्जय ठाकुरले अक्सिजन अभावका कारण उपचारमा समस्या भइरहेको बताए ।

उनले भने, ‘अस्पतालसँग भएको औषधि समाप्त भएको तीन हप्ता भइसक्यो, निजी पसलहरूबाट जसोतसो किनेर काम चलाइरहेका छौँ, बजेट पनि छैन, नयाँ बजेट आए पनि औषधि खरिदका लागि नयाँ टेन्डर गर्न सकेका छैनाँै ।’

सहज आपूर्ति नभए केही दिनमा नै अस्पतालको सेवा बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए । जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरका सञ्चालक डा.सुरेन्द्र यादवले आवश्यकताअनुसार अक्सिजन उपलब्ध हुन नसकिरहेको बताए ।

उनले चाहिएको औषधि जनकपुरमा उपलब्ध हुन नसकेपछि भारतीय बजारमा मान्छेलाई पठाएर ल्याउने गरेको बताए ।

ठप्प विद्यालय

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव सबभन्दा बढी शिक्षा क्षेत्रमा परेको छ ।

१२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण झन्डै एक महिना बन्द रहेका विद्यालय सञ्चालन भएको केही महिना नबित्दै पुन: अवरोध भएको छ । दुई महिनादेखि विद्यालय बन्द हुँदा चालू शैक्षिक सत्रको पढाइ लथालिंग भएको शिक्षकहरू बताउँछन् । लामो बन्दले पाठ्यक्रमअनुसार पढाउन समस्या हुने शिक्षकहरूको भनाइ छ ।

‘भूकम्पले एक महिना पढाइ रोकियो,’ एक शिक्षकले भने, ‘आन्दोलले दुई महिनादेखि विद्यालय बन्द छन्, पढाई लथालिंग छ, अब कोर्स सक्न समस्या छ ।’

निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याबसनले लिखित रूपमै आन्दोलनलाई समर्थन जनाउँदै विद्यालय बन्द गरेका छन् । सामुदायिक विद्यालयले लिखित रूपमा बन्दको समर्थन नगरे पनि पठनपाठन भने बन्द छ ।

यसरी विद्यालय बन्द हुँदा जिल्लाको शैक्षिक अवस्था झन् कमजोर हुने सर्वसाधारणमा चिन्ता छ । दैनिक विद्यालय जाने केटाकेटी घरमै रहेपछि अभिभावकलाई थप आर्थिक भार बढेर गएको छ ।

विद्यालय बन्द भएदेखि छोराछोरीको पढाइ बन्दजस्तै भएको जनकपुर–५ का जाकिर खानले बताए । उनले भने, ‘बन्दका कारण केटाकेटी घरमै टिभी, हेरेर दिन काट्ने गरेका छन् । पढ्न मान्दैनन् ।’

पेट्रोलियम पदार्थको चरम अभाव

जनकपुरमा खाद्यान्नको भन्दा बढी खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पर्दाथको चरम अभाव सिर्जना भएको छ ।

बन्दका कारण बाहिरबाट ग्यास आपूर्ति बन्द भएपछि चरम अभाव भएको ग्यास व्यवसायी संघ जनकपुरका अध्यक्ष मनोज चौधरीले बताए । बजारमा ग्यासको अभावसँगै कालोबजारी पनि बढेको छ ।

प्रतिसिलिन्डर दुई हजारदेखि २५ सय रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य भएका छन् । ग्यास उपलब्ध नभएपछि सर्वसाधारण चुलोमा खाना पकाउन थालेका छन् । ग्यास नपाउँदा दाउराको मूल्य पनि बढेको छ ।

पेट्रोल प्रतिलिटर दुई सयदेखि तीन सय तिरेर उपभोक्ताले प्रयोग गर्ने गरेका छन् । खाद्यान्न अभाव जनकपुर बजारमा खासै देखिएको छैन । तर, तरकारी, खाने तेल, चिनी, साबुनजस्ता सामानको मूल्य अकासिएको छ ।

सीमावर्ती बजारनजिक भएकाले यहाँ उपभोक्ता भारतीय बजारमै गएर खाद्यान्न तथा दैनिक उपभोग्य हुने सामग्री खरिद गर्ने गरेका छन् । आन्दोलनरत मधेसी मोर्चाले नाकामा धर्ना दिए पनि घरायसी प्रयोगका लागि भारतबाट सामान ल्याउन छुट दिएको छ ।

विपन्न वर्गका लागि शिविर

जारी मधेस आन्दोलन लम्बिँदै गएपछि आन्दोलनबाट प्रभावित अतिविपन्न वर्गका लागि विभिन्न संघसंस्थाले सहयोग थालेका छन् । पछिल्लो दुई सातादेखि जनकपुरका विभिन्न चोकमा दैनिक सयौँ क्विन्टल राहत सामग्री वितरण हुँदै आएको छ ।

राम चोक, जनक चोकलगायतका स्थानमा ब्याहुत सुडी कुट्टीलगायतका संस्थाले नि:शुल्क भोजनालय शिविर चलाएका छन् । यस्ता शिविर सञ्चालनमा जातीय संघसंस्था बढी सक्रिय छन् ।

राहत सामग्री शिविरमा दुई किलो चामल, गहुँ, दुई सय ग्राम दाल, नुन गरिब तथा असहायलाई वितरण गरिँदै आएको जनकपुरको भानु चोकमा राहत शिविरको अगुवाइ गर्दै आएका शम्भुप्रसाद साहले जानकारी दिए । ती शिविरमा ग्रामीण क्षेत्रबाट हजारौँ क्विन्टल राहत सामग्री आइसकेको बताइएको छ । नयाँ पत्रिकाबाट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.