काठमाडौं : नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी सरकारले गरेको छ।

चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र गोलीगट्ठा खरिद गर्ने उल्लेख गरिएको छ।

रक्षाको प्रतिवेदनलाई उधृत गर्दै लेखिएको छ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार ६ हजार चार सय ९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ छुट्याइएको छ । यसमा हतियारको मेसिनरी औजार पनि समेटिएको छ ।

यसैगरी, यो आवमा पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन भएको रक्षाको प्रतिवेदनमा उल्लेख छ ।

असारसम्म दुईवटा एमआइ १७ भी ५ हेलिकोप्टर, एउटा मिडियम भिभिआइपी हेलिकोप्टर, एउटा फिक्स विङ जहाज, दुईवटा ट्रेनर जहाज खरिदका लागि सम्झौता भइसकेको छ ।

सैनिक सामग्री उत्पादनका लागि ७.६२ एमएम गोली उत्पादनका लागि मेसिन खरिद प्रक्रिया सुरु भएको छ ।

सरकारले आगामी असारभित्र राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने, कात्तिकभित्र कार्यदल गठन गर्ने र मस्यौदा तयार गरेको उक्त पत्रिकाले जनाएको छ।

पछिल्लो समय नेपाली सेनाको शिर्षतहबाट राजनीतिक विषयबस्तुहरु प्रति लक्षित बक्तव्यहरु आउने गरेको छ। मुलुक संघीयतामा गएपछि प्रदेश अथवा अन्य क्षेत्रमा विवाद शिर्षजना हुन सक्नेप्रति नेपाली सेना लक्षित गरी ठूलो संख्यामा हतियार खरिद गर्न लागिएको बुझिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.