
हुलाकी न्यूज जनकपुरधामः प्रदेश २ सरकारले बनाएको प्रहरी विधेयकप्रति असन्तुष्टि जनाउँदै मधेशी दलितहरुले आन्दोलनको चेतावनी दिएका छन्।
सरकारले छलफलको लागि प्रदेशसभामा टेबुल गरेको विधेयकको विरोधमा दलितहरुले प्रदेश २ को संसद घेराउ गर्ने चेतावनीसमेत दिएका छन्।
बुधबार प्रदेश सभा घेराउ गर्ने चेतावनी दलित अधिकार परिषदले दिएको छ।
प्रहरी विधेयकमा व्यवस्था गरिएको आरक्षणको प्रतिशतप्रति दलितहरु रुष्ट भएका छन्। प्रदेशसभामा बुधबारबाट उक्त विधेयकमाथि छलफल शुरुहुँदैछ।
प्रदेश २ मा ६.६१ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातीलाई १५ प्रतिशत र १७.२९ प्रतिशत जनसंख्या रहेको दलितलाई जम्मा ७ प्रतिशत आरक्षण सरकारले प्रहरी विधेयकमा गरेको छ। यस्तो व्यवस्था कुन आधारमा दिएको भन्दै स्पष्ट गर्न दलित अगुवा भोला पासवानले माग गरे।
प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षण दिनु स्वागत योग्य निर्णय रहेपनि भर्ना प्रक्रियामा महिलाको नाउँमा दलितहरुलाई स्थान नदिइने परिषदको आशंका रहेको पासवानले बताए।
विधेयकमा सुधारको नभए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ।
परिषदले बन्न लागेको प्रहरी ऐनमा दलित जनसंख्याको आधारमा १७.२९ प्रतिशत आरक्षणको व्यवस्था, महिला आरक्षण कोटामा महिलालाई छुट्टै १७.२९ आरक्षणको व्यवस्था, नीति आयोग लगायत अन्य सम्पूर्ण आयोगहरुमा जनसंख्याको आधारमा दलितको प्रतिनिधित्वको माग गरेको छ।



