
हुलाकी न्यूज, काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय दलको नेता सहमतिमा चुन्न दबाब दिएका छन्।
सांसदहरुले अध्यक्ष मण्डललाई सहमति मै संसदीय दलका नेताको प्रस्ताव ल्याउन दबाब दिएका छन्।
हालसम्म संसदीय दलको नेता चयन गर्न नसकेको संघीय संसदको तेस्रो ठूलो दल राजपाको संसदीय दलको बैठकबाट उक्त दबाब दिइएको हो।
सोमबार बसेको राजपाको संसदीय दलको बैठकबाट शनिवार नेता चयन गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले जानकारी दिइन्।
बैठकमा संसदीय दलको विधान सांसदहरुलाई वितरण गरिएको छ र मंगलबार १२ बजेसम्म कुनै संशोधन भए अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई लिखित रुपमा बुझाउन निर्देशन दिइएको छ।
सांसदहरु चन्द्रकान्त चौधरी, वृशेष चन्द्र लाल र चन्दा चौधरीलगायतले सहमति मै दलको नेता चयन गर्न अध्यक्ष मण्डललाई दबाब दिएका थिए।
यसअधि बसेको राजपाको राजनीतिक समितिको बैठकले कुनै ठोस निर्णय गर्न सकेको थिएन।



