हुलाकी न्युज, सिरहा । सिरहामा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका सिके राउतका ३ जना कार्यकर्तालाई सिरहाबाट पक्राउ गरेको हो ।
सिरहा नगरपालिका वडा नम्बर ४ बस्पिट्टामा मधेशको वर्तमान स्थिति र सन्दर्भमा चर्चा—परिचर्चा गरिरहेका बेला उनीहरुलाई शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिरहा नगरपालिकाका असेश्वर कामती, किशोरी यादव र शम्भु यादव रहेका छन् । समातिएका तिनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव रावत खरेलले उनीहरुलाई स्वतन्त्र मधेशको अभियान चलाइरहेको शंकाको आधारमा समातिएको र सिके राउतकै कार्यकर्ता हो भन्ने यकिन भइनसकेको जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भईरहेको डिएसपी खरेलले बताए ।



