काठमाडौं:
थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

महाधिवेशनमा भूमिगत रहेका थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरी पनि उपस्थित थिए। उनी मास्क लगाएरै बैठकमा सहभागी भएका थिए। बैठक टीकापुर घटनामा आरोपित बनाइएका थाकस केन्द्रीय अध्यक्ष धनिराम चौधरीसहित सबैको मुद्दा खारेज गर्नुपर्ने सरकारसँग माग गरिएको छ। साथै २२औं महाधिवेशनलाई आन्दोलनको रुपमा मनाउने बताइएको छ।

बैठकले यस सम्बन्धमा साउन १५ गते प्रधानमन्त्री, सभामुख र मुख्य मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिकसमेत गरेको छ।

यसैबीच पूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।

२०७२ भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको घट्ना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई कैदीबन्दी गरिएकोमा आपत्ति प्रकट गरिन्।

उनले भनिन्, ‘नेपालका चौधरी गौतम बुद्धका सन्तती हौं, हामीलाई हिंसा गर्न आउँदैन, बुद्धको दर्शन र मार्गमा हामी हिँड्ने मानिस हौं, टिकापर घट्ना राज्यले घटाएको हो, त्यो घट्ना राजनीतिक थियो, राजनीतिक रुपमै त्यसको समाधान खोज्नुपर्छ, सरकारको प्रत्यक्ष निगरानीमा ८ वटा प्रतिबेदनहरु तयारी पारिएका छन् ती सार्वजनि किन गरिएन ? हामीले पहिलेदेखि नै भन्दै आएका छौं, त्यो घटनामा थारुहरुका घरहरु जले, ठूलो क्षति भयो, महिलाहरुको अस्मिता लुट्ने काम भयो, त्यसका बारेमा सरकारले किन छानविन आयोग गठन गरेन ? त्यसको लेखाजोखा किन भएन ?’

टिकापुर घट्नालाई थारु आन्दोलनलाई समाप्त पार्ने अस्त्रका रुपमा राज्यले लिएको बताउँदै पूर्व सभासद चौधरीले भनिन्, ‘टीकापुर घट्नालाई लिएर थारु समुदायलाई प्रभावित पार्ने र हत्यारा बनाइन्छ भने, १७ हजार मान्छे मार्ने प्रचण्डलाई जेल हाल्नुपर्यो, झापा आन्दोलनको नाममा घाँटी काट्दै हिँड्ने प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्यो, उहाँहरु हो खासमा हत्यारा, हामी कसरी हत्यारा भयौं ? झुटा आरोपहरु लगाएर हामीमाथि जुन कार्य भैरहेका छन्, ती सबै गलत छन् ।’

रेशम चौधरीलाई सांसदको सपथग्रहण गराउन माग गर्दै पूर्व सभासद चौधरीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनताको कानुनी अधिकार भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेर सरकारले कानूनको धज्जी उडाएको समेत आरोप लगाइन्।

http://www.tharuwan.com/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.