
हुलाकी न्यूज, जनकपुरधाम । दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेला सम्पन्न भएको छ ।
आइतबार सो भेलाको समापन समारोहलाई प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सम्बोधन गरेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भन्दा पछाडी रहेको मुसहर समुदायको उत्थानको लागि प्रदेश सरकारले अगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु ल्याएको बताए ।
मुसहर समुदाय पछाडि पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउँदै उनले बालबालिकाको शिक्षामा जोड दिन अगुवाहरुलाई आग्रह समेत गरे । अधिकार खोजेर मात्र नपाइने बताउँदै उनले अधिकारको लागि पहिले आफै शिक्षित र सजग हुनु पर्ने उल्लेख गरे ।
नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘मुसहर डोम जस्ता समुदायसँग धेरै समस्याहरु छन्, समस्याहरु हामी कहाँ ल्याउनु प्रदेश सरकार भ्याएसम्म सहयोग गर्न तैयार छ ।’
शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेजनै ल्याएको उल्लेख गर्दै उनले ती योजनाहरुबाट लाभ लिन आग्रह समेत गरे ।
भोर संस्थाको मूल आयोजनमा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, पूर्व सभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद् भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र सहितको उपस्थिति रहेको थियो ।
सम्मेलनमा नेपाल, भारत र बंगलादेशका करिब २ सय मुसहर समुदायका अगुवाहरु सहभागी भएका थिए ।



