
हुलाकी न्यूज, सर्लाही । भारत सरकारको सहयोगमा नेपाल–भारत महिला मैत्री समाजले “जीविकोपार्जन सुधार, महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम” को तेश्रो चरण सर्लाही जिल्लामा सुरुवात गरेको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका मिसन उपप्रमुख डा. अजय कुमारले गत शनिबार कार्यक्रमको उद्घाटन गरेका छन् ।
भारत सरकारले नेपालका भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरि चार जिल्लामा उक्त परीयोजनाका लागि ३१.९४ लाख रुपैयाँ प्रदान गरी सहयोग गरिरहेको छ ।
उक्त परियोजनाले सिलाई कटाई, श्रृंगार, बजार प्रवर्धन आदि सम्बन्धि तालिम प्रदान गरि ग्रामिण महिलाहरुको आत्म सशक्तीकारणका लागि अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
भारत सरकारले हालसम्म सर्लाही जिल्लामा १४.७९ करोड रुपैयाँ बराबरका आयोजनाहरु सम्पन्न गरेको छ । यी आयोजनाहरु अन्तर्गत विद्यालय भवन, लखनदेहीमा नदी तालिम कार्यहरु र ग्रामिण विद्युतिकरण कार्यक्रमहरु पर्दछन् ।
नेपाल–भारतको सिमाना–लक्ष्मीपुर–बलरा–गढैया र दलितका लागि सामुदायिक केन्द्रबाट पाँच किलोमिटर दुरिमा अवस्थित मलंगवा नगरपालिकामा हाल २९.८५ करोड मुल्य बराबरका पाँच वटा विद्यालय भवनहरु, कल्भर्ट र ढलहरु निर्माण भइरहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न संस्थाहरुलाई ३१ वटा एम्बुलेन्स र एउटा स्कुल बस योगदान स्वरुप प्रदान गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



