
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का सत्तासाझेदर दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नामाकरणमा समर्थनका लागि पहल थालेका छन् ।
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राख्ने विषयमा फोरम र राजपाबीच यसअघि नै सहमति भइसकेको छ ।
सोही सहमति कार्यानवयनका लागि अन्य दलका नेताहरुसँग फोरम र राजपाका नेताहरुले पहल थालेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवले अन्य दलका नेताहरुसँग नामाकरणका विषयमा छलफल चलाएको बताएका छन् ।
सोही विषयमा उनले प्रदेश २ को नाम मधेश प्रदेश नै रहने दाबी गरेका छन् ।
वीरगन्जमा आयोजित एक सार्वजनिक कार्यक्रममै उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका फोरम अध्यक्ष यादवले प्रदेश २ को नाम मधेश प्रदेश राख्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
यता, राजपाका वरिष्ट नेता एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पनि प्रदेशको नाम मधेश प्रदेश हुने दाबी गरेका छन् ।
उनले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने, ‘प्रदेश २ को नामाकरणका लागि राजपा पनि सकारात्मक रहेको छ । प्रदेश २ को नाम मधेश प्रदेश नै उपयुक्त हुन्छ ।’



