हुलाकी न्यूज काठमाडौंः
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तत्कालै सरकारमा सहभागी हुने कुरालाई अस्वीकार गरेको छ। काठमाडौंस्थित राजपा केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकले अहिले सरकारमा सहभागी नहुने आन्तरिक सहमति गरेको छ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन आह्वान गरिएको थियो। जसअनुसार पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले उक्त प्रस्ताव राजनीतिक समितिको बैठकमा लगेका थिए।

आफ्ना निर्वाचित सांसद रेशम चौधरीलाई हालसम्म शपथ ग्रहण नगराएको र संविधान संशोधनप्रति पनि चासो नदेखाएको भन्दै सरकारमा सहभागिताका विषय अस्वीकार गरिएको छ।

अध्यक्ष मण्डलको सामुहिक नेतृत्व र सामुहिक सहमतिको कुरालाई खुम्याउने सहमति पनि भएको छ। सामुहिक निर्णयका कारण पार्टीको गतिविधि अगाडि बढ्न नसकेको भन्दै पार्टीका संयोजक महन्थ ठाकुरलाई निर्णयको अधिकार दिने अनौपचारिक सहमति भएको हो।

यसैगरी आगामी बैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तोकिएपनि स्थान तोकिएको छैन। पार्टीको विधानमा महाधिवेशन एक वर्षभित्र गर्ने भनिएको प्रावधानलाई संशोधन गरी निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको छ महासचिव केशव झाले जनाएका छन्।

राजपाको विधान संशोधनका लागि तीन सदस्यीय समिति बनाइएको छ। उक्त समितिमा लक्ष्मण लाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन्।

राजनीतिक समितिको बैठकबाट संसदीय दलको विधान पनि पारित गरिएको छ। जसअनुसार असार ११ गते राजपाले संसदीय दलको नेता पाउने सम्भाना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.