आशिष गुप्ता, नेपालगञ्ज, २२ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश अशान्त भएका कारण भारतले नेपालमा आपूर्ती रोकेको बताएका छन् । “यहाँ सामान पठाउँदा भारतले सुरक्षा दिने होइन, यहीँको सरकाले दिने हो । त्यो सुरक्षाको प्रत्याभूति नहुँदा भारतले सामान दिन नसकेको हो”, उनले बताए ।

नेपालगञ्जमा प्रेस मञ्च नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै महतोले आफूहरुका माग पूरा नहुन्जेल भारतबाट केही पनि ल्याउन नदिने बताए । उनले गिरिजाप्रसाद कोइरालाले गरेको सम्झौताअनुसार अहिलेको सरकारले संविधानमा आफ्ना अधिकार नसमेटेकोले आन्दोलित हुनु परेको बताए ।

“वैवाहिक अंगिकृत नागरिकता दिइनुपर्ने र स्वायत्त अधिकारसहितको मधेश/थरूहट प्रदेश दिइनुपर्ने आफूहरुको मुख्य माग रहेको भन्दै उनले भारतबाट बिहे गरेर ल्याइएकी दुलहीलाई सांस्कृतिक सम्बन्धका आधारमा तुरुन्तै नागरिकता दिनुपर्ने धारणा राखे । अर्को प्रसङ्गमा अध्यक्ष महतोले काठमाडौंमा रहेको आफ्नो घर आगजनी गर्ने उद्देश्यले घेराऊ गरेको आरोप लगाए । आफू सबैभन्दा बढी राष्ट्रवादी भएको उनको भनाइ थियो ।

यस्तै मोर्चाले नेपालगञ्जको चौलिक्का चोकमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै महतोले मधेश आन्दोलनमा राज्यले दमन गरेको आरोप लगाए । उनले यो सरकार शाही सरकार जस्तो भएको भन्दै मधेशी, थारु, जनजाति, मुस्लिम, अल्पसंख्यक लगायतको माग राज्यले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने अडान दोहो¥याए ।

संयुक्त थरुहट मधेश संघर्ष समितिका संयोजक विजय गुप्ताले विरोध सभालाई सम्बोधन गर्दै राज्यले माग पूरा नगरेकै कारण आन्दोलन भएको भन्दै माग सम्बोधन भए आन्दोलन पनि रोकिने बताए ।

प्रहरी र प्रदर्शनकारीबीच झडप
विरोध सभा समापन हुने बित्तिकै नेपालगञ्जको जमुनाहा नाका नजिक प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । झडपमा दर्जनौं आन्दोलनकारी घाइते भएको मोर्चाका सहसंयोजक राजेश वर्माले बताए ।

झडपपछि प्रहरीले ५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो । नेता राम कुमार दीक्षित, कमरुद्दीन राई, कामता प्रसाद सोनखर, मिना बुढाक्षेत्री लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाले जनाएको छ । महतो आएपछि नेपालगञ्ज नाकाको अवस्था तनावपूर्ण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.