विटु मिश्र

प्रत्येक वर्षायाममा मधेशका हजारौं बस्तीहरु डुबानमा पर्छ। रोकथामका लागि  नियम–निर्देशिका बनेपनि कार्यान्वयन हुँदैन। बाढी आउँदा सरकारी निकायहरुले पनि चासो देखाउँछ तर समान्य परिस्थितिमा सरकार कानमा तेल हालेर सुत्छ। पुनः वर्षायाम आउँछ र सप्तरीसहितका मधेश जलमग्न हुन्छ।

सप्तरी डुब्दा भारतसँगको सम्बन्धमा पनि असर पर्छ। तर यस बारे कुनै पहल हुँदैन।

लगातारको चुरे विनाशका कारण पहाडी भेगमा हुने अविरल बर्षाले गर्दा सप्तरीको खाँडो, महुली, जिता, त्रियुगा, दुधेलालगायतका नदीहरुमा बाढी आउछ। जुन पानी भारततिर निकासी नभई दक्षिणी सीमामा रोकिए पछि दर्जनौं बस्ती डुबानमा पर्दै आएको छ।

बढीले गर्दा सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका बस्तीहरुको हजारौं बासिन्दाहरु बिस्थापित हुने गरेका छन्।

समास्यालाई मध्यनजर गर्दै तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह खाँडो नदीको तीन किलोमिटर पूर्वी र तीन किलोमिटर पश्चिमीतिर तटबन्ध गरी ६ किलोमिटर बराबरको तटबन्ध निर्माण कार्यमा जोड दिएका छन्। अध्यक्ष सिंह भन्छन्,‘गापाका बिभिन्न कार्यहरुबाट बचेको १ करोड रकम खाँडो नियन्त्रणमा लगानी गर्न लागेका हौँ।’

तर स्थानीय बासीहरु गापाका जनप्रतिनिधीहरु विरुद्ध चाहीँ आक्रोस पोखेका छन्। जेष्ठ–असार महिनामा आएर तटबन्ध निर्माण कार्य शुरु गर्नु र त्यसमा पनि बढी मात्रामा बालुवाको प्रयोग गरिनुप्रति स्थानीय युवाहरुले बिरोध गरेका हुन्। बर्षेनी आएको बाढी र पानीसंगै चुरेबाट आएको बालुवाले नदीलाई पूर्ण रुपले पुर्ने गरकेो छ। जसका लागि नदीबाट बालुवा हटाउने र पानी निकासको बाटो खोज्नुलाई प्राथमिकता दिनु पर्नेछ।

स्थानीय तिलाठीका युवा ज्योतिष झा भन्छन्,‘अध्यक्ष सिंहद्वारा गापाको कार्यालय सार्नलाई अर्थात हाल कार्यालय रहेको स्थान तिलाठीबाट अध्यक्षको गाउँ कोईलाडी लग्न विगत पाँच महिनादेखि कसरत भइरहेको छ। त्यहीं कार्यालय निर्मान गर्न छुटयाईएको १ करोड बराबरको रकम आगामी असार मसान्ततिर फ्रीज हुने अवस्था आएपछि। अध्यक्ष लगायतका पदाधिकारीद्वारा पैसा लथालिंग गर्नलाई बर्षायाममा आएर बालुवाको बाँध बाँधिन लागिएको हो।’

तोपाका स्थानीय युवा शैलेन्द्र मण्डल भन्छन्,‘नदीको दक्षिणी मुहान पूर्णरुपले थुनिएको छ, जसले गर्दा तिलाठी, सप्तरीस्थितको हुलाकी मार्ग वर्षको ७ महिनासम्म अवरुद्ध हुने गर्दछ। हुलाकी मार्गमा रहेका कालो पुल निर्माणमा जोड दिनुको साटो तटबन्ध निर्माण गर्नु कदापी उचित होईन। नदीको पानी बग्ने मुहान नै छैन, यस अवस्थामा पैसालाई बालुवामा मिसाइएको देखिन्छ। स्थानीय वासिन्दा फेरी पनि मार्कामा पर्ने नै हो। अहिलेको अवस्थामा तटबन्ध निर्माण गर्नु गापाको पदाधिकारीहरुको तानासाही नै हो।’

युवा गापाको अध्यक्ष हुँदा गापावासी धेरै उत्साहित देखिन्थ्यो तर विगत केही दिनदेखी अध्यक्ष तथा पदाधिकारीहरुद्वारा गरिएको निर्णयले गापा दुई टुक्रामा बिभाजित भएको देखिन्छ।

यसअघि गापाको कार्यालय सार्ने कुरामा विवाद हुँदा गापाको अध्यक्ष एकातिर भने उपाध्यक्ष अर्कोतिर भएका थिए। अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीबाट भएपनि अध्यक्ष गापा कार्यालय सार्ने अडान गरेको थियो भने उपाध्यक्ष चाहीँ त्यसको बिरोधमा उभेकी थिइन्। उपाध्यक्ष सुचिताकुमारी यादव चाही अध्यक्ष सिंह र अधिकृत सरोज झाविरुद्ध उच्च अदालत राजविराजमा गाउँपालिकाकै कार्यालयमा गाउँसभा नगरी छिमेकी नगरपालिका राजविराजको एक होटेलमा गाउँसभाको बैठक बसाएकाले भन्दै त्यसको खारेजको माग गर्दै रिट दायर गरेकी छिन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ३, ४ र १९ ले गाउँसभा बस्ने मिति, समय, स्थान र बैठकको कार्य सूचिसमेतको किटानीका साथ व्यवस्था गरेको छ,’उपाध्यक्ष यादवले भनिन्, ‘तर ती ऐन नियमलाई लत्याउँदै उपाध्यक्षलाई दिएको अधिकारसमेत मिच्ने काम भयो।’

स्थानीय विवाद जारिरहँदा केन्द्र सरकारले पनि बाढी नियन्त्रणका लागि चासो दिएको छैन। जिल्ला प्रशासन सप्तरीमा खाँडो नियन्त्रणका योजना अलपत्र छ। गत वर्षको बाढीका बेला केन्द्र सरकारले चासो दिएपनि अहिलेसम्म कुनै योजना अगाडि बढेको छैन।

2 COMMENTS

  1. बहुत निक लिख्लौ बिट्टु भाईजी !!!
    लेकिन गाउँ के अबस्था बडि नाजुक देखाईछै, यूवा जनप्रतिनिधि भेला पर भि वहने पुराना घिन्याल झन्झझ, उहे परान शैली, उहे असार बाला फोकटिया बिकास, प्रतिनिधि मे प्रसल ईन्ट्रेष्ट हावी हाथ लग्नाइ बहुत निराश कर बाला बात छै !!!
    “जै दुखे भेलि भिन से पडल बखरा – यूवा जनप्रतिनिधि “

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.