
हुलाकी न्यूज, काठमाडौंः मधेश आन्दोलनताका ‘मधेश विरोधी’ भनिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा ६ जना मधेशीहरु मन्त्री भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका ओली नेतृत्वको सरकारमा मधेशीलाई गाली गर्दै आन्दोलनको विरोध गर्नेदेखि आन्दोलनको नेतृत्व गर्नेसम्म अटाएका छन्।
मधेश आन्दोलनताका मधेशीहरुप्रति अपशब्द प्रयोग गर्ने लालबाबु पण्डित पहिलो मन्त्रिपरिषद् विस्तारकै क्रममा मन्त्री भएका थिए। दोस्रो पटक मन्त्री भएका पण्डित अहिले संघीय मामिला तथा समान्य प्रशासन मन्त्री छन्।
यसैगरी मधेश आन्दोलनको नेतृत्व गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन्।
मधेश आन्दोलनलाई नैतिक समर्थन गर्दै आएका मातृका प्रसाद यादव उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री छन्।
मधेश आन्दोलनताका आलोचना खेपेका रघुबीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन्।
पश्चिम मधेशमा आन्दोलनको नेतृत्व गर्दै आएका मोहम्मद इस्तियाक राइ शहरी विकास मन्त्री भएका छन्।
यसैगरी राजकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छिन्।
ओली नेतृत्वको सरकारमा रहेका कुल २४ मन्त्री मध्ये ६ जना मधेशी छन् अर्थात ओलीको मन्त्रिपरिषदमा २५ प्रतिशत मधेशी रहेका छन्।
सरकारमा मधेशीहरुको उपस्थिति भएपनि मधेश–थरुहट आन्दोलनका मागहरु पुरा हुनेमा धेरै विश्वस्त छैनन्।




