
हुलाकी न्यूज, काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अगाडि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएर आफ्नै अडान फिर्ता लिएका छन्।
प्रधानमन्त्री भएलगतै उपप्रधानमन्त्री नबनाउने अडान लिएका ओलीले शुक्रबार फोरम नेपालका अध्यक्ष यादवलाई उपप्रधानमन्त्री बनाउन बाध्य भएका छन्।
गत फागुन १० गते प्रधानमन्त्री ओलीले आफ्नो सरकारमा उपप्रधानमन्त्री नराख्ने प्रस्ताव गरेका थिए।
हेर्नुस् यो समाचार
वाम सरकारमा उपप्रधानमन्त्री नराख्ने ओलीको प्रस्ताव
शुक्रबार मन्त्रिपारिषद् विस्तार गर्ने भनी फोरम अध्यक्ष यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सचिव मोहम्मद इस्तियाक राइलाई शहरी विकास मन्त्रालय दिने सुचनासमेत जारी भइसकेको थियो। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट उक्त विज्ञप्ती जारीसमेत भइसकेको थियो।

तर उपेन्द्र यादवले आफ्नो वरियता घटाएर सरकारमा सहभागी नहुने बताउँदै ओली र प्रचण्डसँग छलफल सुरु गरेका थिए। शुक्रबार दिउँसो करिब २ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफल साँझ ६ बजेसम्म चलेको थियो।
अन्तमा प्रधानमन्त्री ओली र प्रचण्डले यादवलाई उपप्रधानमन्त्री दिने सहमति जनाएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले आफु निकट दोस्रो वरियतामा रहेका रक्षा मन्त्री इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाए।
ओलीको मन्त्रिपरिषदमा यादव तेस्रो वरियताका मन्त्री भएका छन्।
यसैगरी फोरमबाटै इस्तियाक राइले शहरी विकास मन्त्रीको शपथ लिएका छन्।
यादव यसअघि परराष्ट्रमन्त्री र दोस्रो पटकमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका छन्। उनी तेस्रो पटक मन्त्री भएका हुन्।
राइ भने यसअघि श्रम तथा रोजगार मन्त्री भएका थिए।



