
हुलाकी न्यूज काठमाडौं: प्रदेश २ को सरकारले ‘एक शहीद परिवार एक रोजगारी’ नीति कार्यान्वयन थालेको छ। प्रदेश सरकारको पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याएको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद परिवारलाई रोजगारी दिने निर्देशिका मंगलबारमात्रै पारित भएको थियो। उक्त निर्देशिका पारित भएपछि बुधबार एक शहीद परिवारलाई रोजगारी दिइएको हो।
तेस्रो मधेश आन्दोलनको क्रममा शहीद भएका महोत्तरीका रामविवेक यादवकी पत्नी अनिला यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यलयमा रोजगारी दिइएको हो।
प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भने, ‘मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनका लागि निर्देशिका हिजो पारित भएपछि आज एक परिवारलाई रोजगारी दिइएको हो। शहीद यादवकी पत्नीलाई मुख्य न्यायाधिवक्ताकै कार्यलयमा रोजगारी दिइएको हो।’
झाले अब क्रमिक रुपमा सबै शहीद परिवारलाई रोजगारी उपलब्ध गराउने कार्य अगाडि बढ्ने बताए।
कार्यलय सहयोगीमा शहीद पत्नि यादवलाइ जागिर दिइएको हो। सुरूमा डेढ महिनाको नियुक्ती दिइएपनि पछि म्याद थपिदै जाने मुख्य न्यायाधीवक्ता झाले बताए।



