
हुलाकी न्यूज, काठमाडौंः सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा मधेशका विभिन्न विषयहरु उठाइएको छ। मधेशवादी दलसहित नेकपा कम्युनिष्ट पार्टीका नेताहरुले पनि मधेशका योजनाहरु छुटेको भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्।
नेकपाकी नेतृ एवं सांसद जुली महतोले सरकारको नीति तथा कार्यक्रममा मधेश बारे छुटेको १० वटा योजना संसदमा प्रस्तुत गरेकी छिन्।
नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा सांसद महतोले मधेशका लागि विशेष प्याकेज नल्याइको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
उनले जानकी मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन सरकारसँग माग गरिन्।
जनकपुर एयर पोर्टलाई क्षेत्रीय विमान स्थलको रुपमा विस्तार गरी राती पनि सञ्चालनमा आउन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरिन्।
सांसद महतोले सुनकोशी–कमला डाईर्भसन बारे नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै बजेटमा सामेल गर्न आग्रह गरिन्।
प्रदेश २ लाई मदिरा मुक्त प्रदेश बनाउन सरकारसँग आग्रह गरिन्।
हालै स्थापना भएको राजर्षी विश्वविद्यालयको कामलाई अगाडि बढाउन सरकारले प्रयाप्त बजेट छुट्याउनु पर्ने माग गरिन्।
मधेशमा लगभग ३८ प्रतिशतभन्दा बढी शिक्षाबाट बञ्चित रहेकोले शिक्षाको विशेष प्याकेज ल्याउनु पर्ने माग गरिन्।
मधेशको जनताको माग सम्बोधन गर्न तराई मधेशसँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा उनले राखिन्।
मधेश तथा पहाडमा औद्योगिक केन्द्रको स्थापनाको माग गर्दै मधेशका बन्द उद्योगहरु सञ्चालनका लागि आग्रह गरिन्।



