
हुलाकी न्यूज काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनसंख्याको आधारमा प्रदेशमा बजेट दिनु पर्ने माग गरेको छ। राजपाको अध्यक्ष मण्डलको बैठकबाट उक्त माग गरिएको छ।
सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको राजपाले जनसंख्याका आधारमा प्रदेशमा बजेट विनियोजन हुनु पर्ने कुरा संसदमा उठाउने निष्कर्ष पनि निकालेको छ।
आफुहरुका लागि नीति तथा कार्यक्रम खासै उपलब्धी मुलक नभएको बताउँदै बजेट विनियोजनको कुरामा राजपा केन्द्रीत भएको अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बताए।
भण्डारीले भने,‘पहिले पनि टाउका टाउकाको क्षेत्र वा जिल्लामा बजेट जान्थ्यो। अव त्यसो गर्नु भएन। जनसंख्याको आधारमा बजेट जानु पर्छ।’
मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले १४ गते पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ। २५ गते राजनीतिक समितिको बैठक बोलाउने निर्णयसमेत गरेको छ।



