
हुलाकी न्यूज सिम्रौनगढ (बारा): मधेशको एतिहासिक एवं पुरातात्वि स्थल सिम्रौनगढमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न योजना प्रस्तुत भएको छ।
सिम्रौनगढ संग्राहलय गुरुयोजना, ग्रामिण पर्यटन विकास तथा सिम्रौनगढसहित मधेशका एतिहासिक एवं पुरातात्विक स्थलहरुको संरक्षणका विषयमा प्रस्तुतीहरु भएको छ।
‘सिम्रौनगढ अन्तर्राष्ट्रिय सम्मेलन २०१८’ जेठ चार र पाँच गतेसम्म चलेको थियो।
सम्मेलनमा सिम्रौनगढ बारे भारतसहित अन्य देशका जानकारहरुले आ–आफ्नो धारणा राखेका थिए।
सम्मेलनमा सहभागीहरुलाई सिम्रौनगढका विभिन्न पुरातात्विक समाग्रीहरुको अबलोकन गराइएको थियो। मुर्तिहरु सुरक्षित राखिएको अजयबघर, रानीबास मन्दिर, कंकाली मन्दिर, इसरा पोखरी, झरोखर पोखरी, पलकिया माई, कोतवालीलगायतको स्थलको भ्रमण गराइएको थियो।
वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले ग्रामिण पर्यटन विकासको योजना अगाडि बढाउनु पर्ने बताएका थिए भने पुरातत्व विभागकी मन्दाकिनि श्रेष्ठले सिम्रौनगढलाई समाप्त पार्न षड्यन्त्र भएको बताएकी थिइन्।
कार्यक्रममा विभिन्न शोधपत्रहरु पनि प्रस्तुत भएको थियो।
कार्यक्रममा सिम्रौनगढमा संग्राहलय निर्माणका लागि गुरु योजनासमेत प्रस्तुत गरिएको थियो। मधेश सम्बन्धी लेखक एवं मधेश मानव अधिकार (मधुर)का अध्यक्ष राममनोहर साहले उक्त गुरुयोजना तयार पारेका छन्। उनको गुरु योजना विजय चन्द्रले प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरुले सिम्रौनगढसहित मधेशका पुरातात्विक एवं एतिहासिक धरोहरहरुको संरक्ष तथा पर्यटन विकासमा जोड दिएका थिए।
कार्यक्रमको आयोजना सिम्रौनगढ नगरपालिका र तराई मधेश राष्ट्रिय परिषदले गरेको थियो। कार्यक्रममा सहयोग मधुरलगायतको सांस्थाको रहेको थियो।



