काठमाडौँ : संघीय सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई ‘अनुपयुक्त’ भन्दै रोक्ने निर्णय गरेको छ।

प्रदेश नम्बर २ को मन्त्रिपरिषद्ले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा पठाउन प्रस्ताव संघीय सरकारलाई पठाएको थियो। यस विषयमा आज मन्त्रिपरिषद्‍मा छलफल भएको थियो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले भने, ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका भन्ने एनजिओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउन प्रदेश मन्त्रिपरिषद्को प्रस्ताव आएकोमा अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को  नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ।’

मन्त्रिपरिषद्को बैठकले प्रदेशको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। यसैगरी भोलि राष्ट्रपतिले वाचन गर्ने सरकारको नीति तथा कार्यक्रमको सम्बोधन प्रस्ताव पनि स्वीकृत भएको छ।

सरकारले १२ सय किलोमिटरको चुरे र भित्री मधेस जोड्ने मदन भण्डारी राजमार्ग निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर,जोगबुढा र रुपालसम्म पुग्नेगरी यो राजमार्ग निर्माण हुनेछ।

त्यसैगरी राष्ट्रिय बीमा संस्थानको प्रशासक कविप्रसाद पाठक झापा नियुक्त गरिएको छ।

सरकारले सबै मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

http://www.pahilopost.com/content/20180520225601.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.